
पोखरा,
पोखराको पुरानो सामाजिक–व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि चुनावी गतिविधि तीव्र बनेको छ। संघको नेतृत्व सम्हाल्दै उद्योगी–व्यवसायीको हकहितमा काम गर्ने लक्ष्यसहित चार जना उम्मेदवार अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएका छन्।
अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेदवारी दिएका छन्। आचार्य र गौतम प्यानलसहित चुनावी मैदानमा छन् भने पोखरेल र बुद्धाचार्यले स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। निर्वाचनको माहोल तातिरहेका बेला पोखराको सिटीवान टेलिभिजनले बुधबार ‘चार दाबेदार, एउटै प्रश्न’ शीर्षकमा अध्यक्षका प्रत्यासीबीच बहस कार्यक्रम आयोजना गरेको छ। टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठको सहजीकरणमा भएको कार्यक्रममा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल, बलराम आचार्य र उत्तममान बुद्धाचार्य सहभागी भए। कार्यक्रममा उम्मेदवारहरूले आफ्नो उम्मेदवारीको आधार, संघको आगामी भूमिका तथा व्यवसायीका समस्या समाधानका लागि अघि सारेका योजनाबारे धारणा राखे।
पोखरा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रममा पोखरा र यहाँका व्यवसायीको हितमा संघले विगतमा निर्वाह गरेको भूमिका तथा आगामी दिनमा संघको जिम्मेवारीबारे समेत छलफल गरिएको थियो। अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई ‘ग्रेटर पोखरा’को अवधारणाअनुसार अझ फराकिलो, समावेशी र प्रभावकारी संस्था बनाउने आफ्नो योजना रहेको बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायसँग निरन्तर संवाद र दबाब सिर्जना गर्ने उनको भनाइ छ।
साना, मझौला र ठूला सबै खालका उद्योगी–व्यवसायीलाई समेटेर संघलाई सबैको साझा घरका रूपमा विकास गर्ने उनले बताए। व्यवसाय सञ्चालनका क्रममा आइपर्ने कानुनी, प्रशासनिक तथा नीतिगत समस्या समाधानका लागि संघको तर्फबाट प्रभावकारी पैरवी गर्ने उनको प्रतिबद्धता छ। विदेश पलायन भइरहेको युवा जनशक्तिलाई पोखरामै अवसर सिर्जना गरी उद्यमशीलतातर्फ आकर्षित गर्न विशेष कार्यक्रम ल्याउने योजना पनि पोखरेलले सुनाए। संघ विधानअनुसार सञ्चालन हुनुपर्ने विषयमा आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले यस विषयमा आफ्नो अडान कायमै रहेको स्पष्ट पारे।
अर्का अध्यक्ष प्रत्यासी उत्तममान बुद्धाचार्यले १७ बुँदे प्रतिबद्धतासहित चुनावी मैदानमा आएको बताए। उनले व्यवसायीका लागि एकद्वार सहायता केन्द्र स्थापना, व्यावसायिक डाटा बैंक निर्माण तथा एआई र डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको जानकारी दिए। युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्ने योजना पनि बुद्धाचार्यले अघि सारे। पोखरा प्रमुख पर्यटकीय गन्तव्य भएकाले पर्यटन क्षेत्रभित्र नयाँ सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिँदै उनले खेल पर्यटनमा लगानी विस्तार गर्ने आफ्नो सोच रहेको बताए।
‘ग्रेटर पोखरा’को अवधारणामार्फत गाउँघरमा उत्पादन हुने वस्तुको बजार विस्तार तथा बजारीकरणमा सहयोग गर्ने योजना समेत उनले प्रस्तुत गरे। अध्यक्षका प्रत्यासी बलराम आचार्यले पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै पुरानो सामाजिक–व्यावसायिक संस्था भएकाले यसको गरिमा र साखलाई अझ उचाइमा पुर्याउनु आफ्नो मुख्य दायित्व हुने बताए। संस्थालाई थप सुदृढ बनाउँदै सम्पूर्ण व्यवसायीको हकहितमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचार्यले पोखरामा करिब २० हजार व्यक्ति व्यवसायमा संलग्न रहे पनि संघको सदस्यता अपेक्षाकृत कम रहेको बताए। उनले बढीभन्दा बढी व्यवसायीलाई संघमा आबद्ध गराउने अभियान सञ्चालन गर्ने योजना सुनाए।
युवा उद्यमीलाई व्यवसायमा अघि बढ्न आवश्यक सहजीकरण गर्ने तथा प्रत्येक छ महिनामा रोजगार मेला आयोजना गर्ने योजना आफ्नो टिमले अघि सारेको पनि आचार्यले जानकारी दिए। अध्यक्ष पदकी प्रत्यासी शोभा गौतम भने कार्यव्यस्तताका कारण बहस कार्यक्रममा सहभागी हुन नसकेको आयोजक सिटीवान टेलिभिजनका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिइन्। पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते आयोजना हुँदैछ। महाधिवेशनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेका छन्। अध्यक्ष पदमा चार जनाको उम्मेदवारी र पदाधिकारी तथा सदस्य पदमा समेत देखिएको प्रतिस्पर्धाका कारण यसपटकको निर्वाचनलाई व्यवसायीबीच विशेष चासोका साथ हेरिएको छ।




