
दीननाथ बराल,
पोखरा १८, भदौं,
पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा गएको भीषण पहिरोका कारण सडक अवरुद्ध भएपछि पोखराको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको पर्यटन व्यवसायीहरूले बताएका छन् । पोखरा–काठमाडौं जोड्ने सडकको भरपर्दो विकल्प नहुँदा सडक अवरुद्ध हुनेबित्तिकै पर्यटक आगमन प्रभावित हुने र त्यसको प्रत्यक्ष मार पर्यटन व्यवसायीले खेप्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ ।
पोखरा पर्यटन परिषद्को २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनका क्रममा पर्यटन व्यवसायीहरूले पोखरालाई मुलुकका प्रमुख सहर तथा राजधानीसँग जोड्ने वैकल्पिक सडक सञ्जाल निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका हुन् । पर्यटन व्यवसायीहरूले पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा सडक सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिँदै पटक–पटक हुने प्राकृतिक विपद्का कारण पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोर्दै आएको गुनासो गर्नु भयो । नेपालको पर्यटन व्यवसाय ‘भोलि सुधार होला’ भन्ने आशामा रहँदा प्राकृतिक विपद्, सडक अवरोध लगायतका समस्याले व्यवसायलाई अपेक्षित रूपमा उठ्न नदिएको व्यवसायीहरुले गुनासो गर्नु भएको परिषदका महासचिव जीवनराज सापकोटाले बताउनु भयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखराको दिगो तथा गुणस्तरीय पर्यटन विकासका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको बताउनु भयो । पोखरालाई मात्र केन्द्र बनाएर नभई पोखरा आसपासका क्षेत्रलाई समेत समेटेर समग्र पर्यटन विकासको योजना अघि बढाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । पोखरेलले दिगो पर्यटन र वेलनेस पर्यटनलाई प्राथमिकतामा राखेर पोखराको पर्यटनलाई नयाँ ढंगले विकास गर्नुपर्ने सदस्य पोखरोलले बताउनु भयो । पोखरामा रहेका तालहरूमध्ये कम्तीमा एउटा ताललाई व्यवस्थित रूपमा वाटर स्पोट्र्सको केन्द्रका रूपमा विकास गर्नुपर्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिनुभयो ।
सराङकोटबाट सूर्योदय, पुम्दीकोट भ्रमण र काहुँडाँडाबाट सूर्यास्तको अनुभव पर्यटकलाई गराउने गरी पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको पोखरेलले बताउनु भयो । काहुँडाँडामा निर्माणको अवधारणामा रहेका धर्मकाय बुद्ध मण्डल परियोजनाबारे पनि सरकारले चासो देखाएको उहाँले जनाउनु भयो । पोखरेलले पोखराले अब पर्यटक पर्खेर बस्नेभन्दा पनि ‘पोखरा आउनैपर्ने’ गन्तव्यका रूपमा बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । “सरकारसँग बजेटको अभाव होइन, प्रस्ताव र योजनाको अभाव रहेछ । अब पोखराले पर्यटक पर्खेर बस्ने होइन, पर्यटक छनोट गर्न सक्ने अवस्था बनाउनुपर्छ । पोखरा आउन लालायित हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उहाँले भन्नुभयो । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरामा विभिन्न गतिविधि र यहाँको कला संस्कृतिले पोखराको ब्राण्ड भएकोले अब यसको क्षेत्र विस्तार र नयाँ गन्तव्यहरुको खोजि गरी प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष डम्बरबहादुर केसीले पोखरामा दिगो पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा स्थानीय सरकारले अपेक्षित रूपमा एक्सन प्लान बनाएर काम गर्न नसकेको दाबी गर्नुभयो । उहाँले चीनसँगको केरुङ नाकामा देखिएको विपद्का कारण वैकल्पिक नाकाका रूपमा कोरला नाकाको विकासबारे पनि सोच्नुपर्ने बताउनु भयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा भ्रमण वर्ष २०२५–२६ का क्रममा करिब १७ लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्र्याउन सफल भएको दाबी गर्नुभयो । उहाँले पोखराको पर्यटनलाई दीर्घकालीन र दिगो बनाउन पूर्वाधार, नयाँ पर्यटकीय गतिविधि र सेवा–सुविधाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । चपोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्को दुईवर्षे कार्यकालमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा प्रतिनिधिलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।




