
पोखरा,
व्यवसायमा सक्रिय रहँदै संस्थागत नेतृत्वको यात्रामा अघि बढेका तारानाथ ढुंगाना अहिले पोखरा उद्योग वाणिज्य संघको महासचिव पदका उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। आगामी भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनमा उनी अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गर्दैछन्।
ढुंगानाको परिचय भने चुनावी उम्मेदवारमा मात्र सीमित छैन। लामो समयदेखि व्यवसायसँग जोडिएका उनी विभिन्न व्यावसायिक प्रतिष्ठानसँग आबद्ध छन्। व्यवसायसँगै उनी व्यवसायीका साझा सवाललाई संस्थागत रूपमा उठाउने गतिविधिमा पनि सक्रिय रहे। पोखरा उद्योग वाणिज्य संघमा समेत उनी कार्यसमिति काम गरिसकेका छन्।
संस्थागत यात्रामा उनको संलग्नता नयाँ भने होइन। यसले व्यवसायसँगै संघसंस्थाभित्रको जिम्मेवारी सम्हाल्दै आएको उनको यात्रालाई देखाउँछ। ढुंगाना आफ्नो उम्मेदवारीलाई केवल एउटा पद प्राप्त गर्ने प्रतिस्पर्धाका रूपमा प्रस्तुत गर्दैनन्। उनका लागि व्यवसायीको समस्या व्यक्तिगतभन्दा पनि सामूहिक विषय हो। उम्मेदवारी सार्वजनिक गर्दै उनले व्यवसायलाई व्यक्तिगत पेशामात्र नभई रोजगारी, राज्यको राजस्व, परिवारको भविष्य र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। “व्यवसाय केवल व्यक्तिगत पेशा होइन” भन्ने उनको दृष्टिकोणले पनि उनको चुनावी प्राथमिकता संकेत गर्छ। व्यवसायीले भोगिरहेका समस्या पहिचान गर्ने, त्यसलाई संस्थागत रूपमा उठाउने र समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने भूमिका संघले अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनको धारणा छ । यही सोचसहित उनी अहिले महासचिव पदका लागि मत मागिरहेका छन्।
पोखरा उद्योग वाणिज्य संघको महासचिवको जिम्मेवारीमा रहेर व्यवसायी र संघबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने उनको लक्ष्य छ। संघको सात दशकभन्दा लामो इतिहास र बदलिँदो व्यावसायिक वातावरणलाई जोड्दै उनले समयअनुकूल, व्यवस्थित र व्यवसायीमैत्री संस्था निर्माणमा जोड दिएका छन्। यसपटकको निर्वाचनमा उनी शोभा गौतम नेतृत्वको टिमको हिस्सा छन्। गौतम प्यानलले संस्थागत सुशासन, लगानी प्रवर्द्धन, व्यवसायीका साझा समस्या समाधान र पोखराको आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ। महासचिवका रूपमा ढुंगानाको भूमिका यी प्रतिबद्धतालाई संस्थागत रूपमा अघि बढाउने महत्वपूर्ण जिम्मेवारीसँग जोडिनेछ।
व्यवसायको अनुभव, विभिन्न व्यावसायिक संस्थामा बिताएको समय र संस्थागत जिम्मेवारीबाट प्राप्त अनुभवलाई अब पोखरा उद्योग वाणिज्य संघमा प्रयोग गर्ने समय आएको ढुंगानाको बुझाइ छ। त्यसैले उनका लागि यसपटकको चुनाव एउटा पदको प्रतिस्पर्धाभन्दा पनि व्यवसायीले दिएको विश्वासलाई जिम्मेवारीमा रूपान्तरण गर्ने अवसर हो। व्यवसायबाट सुरु भएको उनको यात्रा अब संस्थागत नेतृत्वको अर्को चरणमा प्रवेश गर्ने प्रयासमा छ जहाँ उनको दाबी छ, संघको आवाज अझ सक्रिय, पारदर्शी र परिणाममुखी हुनुपर्छ।




