अनुभवसँग युवाको ऊर्जा जोडौँ, संघलाई नयाँ उचाइमा पु¥याऔँ सौगात थापा

-


     पोखरा क्लिक     
     भाद्र १३ गते २०८३ मा प्रकाशित



पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक अधिवेशनमा उद्योग उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले अग्रजको अनुभवसँग युवाको उर्जा जोड्दै संघलाई नयाँ उचाईमा पुर्याउन आजको आवश्यकता रहेको उल्लेख गरेका छन् । शनिबार भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै शोभा गौतम नेतृत्वको प्यानलबाट उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थापाले युवा व्यवसायीको आवाजलाई संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पु¥याउने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापाले बैगचा वेलनेस रिसोर्ट र पोखरा ट्रेडमलको व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न रहेको जानकारी दिँदै विगत दुई कार्यकाल संघको कार्यसमिति सदस्यका रूपमा काम गरेको अनुभव सुनाए । उनले संघमा काम गर्ने अवसर प्रदान गर्ने निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति तथा आफूलाई निर्वाचित गराउने सम्पूर्ण उद्योगी व्यवसायीप्रति आभार व्यक्त गरे।

‘आजको युवा रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने क्षमता राख्छ,’ थापाले भने, ‘युवाको नयाँ सोच, प्रविधि र ऊर्जालाई अग्रजको अनुभवसँग जोडेर संघलाई थप बलियो बनाउन आवश्यक छ।’निर्वाचित भए युवा उद्यमीका लागि तालिम, व्यवसायिक परामर्श, नेटवर्किङ तथा डिजिटल बजार विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाए। पोखराका व्यवसायीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न निजी क्षेत्र, बैंक, सरकारी निकाय तथा शैक्षिक संस्थासँग सहकार्य गर्ने उनको भनाइ छ।

संघलाई पारदर्शी, प्रविधिमैत्री, समावेशी र व्यवसायीमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दै थापाले सदस्यका समस्या सुन्ने र समाधानका लागि प्रभावकारी पहल गर्ने बताए। कार्यक्रममा थापाले आफ्नो व्यक्तिगत जीवनमा आएको कठिन परिस्थितिबारे समेत चर्चा गरे। २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आफ्नो घर तथा व्यवसायिक प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाटबाट ठूलो क्षति पुगेपछि आफू र परिवारलाई सम्हालिन कठिन भएको उनले बताए। ‘त्यो भयानक शोकलाई शक्तिमा बदल्दै म फेरि विस्तारै उठ्दैछु,’ उनले भने, ‘नयाँ जोस, जाँगर र ऊर्जाका साथ संघ र व्यवसायीको सर्वोपरि हितका लागि अघि बढ्ने प्रयास गरेको छु।’

थापाले अग्रजको अनुभव र युवाको ऊर्जालाई एकअर्काका परिपूरकका रूपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए। आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदभन्दा व्यवसायीको साझा हितसँग जोड्दै उनले भने, ‘मेरो उम्मेदवारी पदका लागि मात्र होइन, कामका लागि हो।’ उनले निर्वाचनमा सम्पूर्ण उद्योगी व्यवसायीको साथ, सहयोग र आशीर्वादको अपेक्षासमेत व्यक्त गरेका छन् ।