
दीननाथ बराल,
पोखरा १०, भदौं,
गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले आज (बुधबार) सामूहिक राजीनामा दिनुभएको छ । एमाले गण्डकी प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा पत्र पेश गर्नु भएको हो ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहनु भएको छ । एमालेबाट सरकारको नेतृत्व गरेका मन्त्री गोविन्दबहादुर नेपालीले पार्टीको निर्णयअनुसार आफूहरूले राजीनामा दिएको जानकारी दिनुभयो । यसअघि मंगलबार बसेको एमाले संसदीय दलको बोर्ड बैठकले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसलाई बुधबार बसेको संसदीय दलको बैठकले औपचारिकता दिएको हो । केन्द्रमा नेकपा एमाले र नेकपा नेतृत्वबीच नयाँ राजनीतिक सहकार्य सुरु भएपछि त्यसको प्रभाव प्रदेश सरकारमा समेत परेको हो । एमाले र नेकपाबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति बनेपछि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारबाट एमाले बाहिरिएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत वैशाख २ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमालेका चार मन्त्रीलाई सरकारमा सहभागी गराउनु भएको थियो । तर उहाँहरु आफूहरूले बनाएको बजेट कार्यान्वयनमा जान नपाउँदै छोटो समयमै सरकारबाट बाहिरिनुपरेको छ ।
एमाले सरकारबाट बाहिरिएसँगै गण्डकीमा नयाँ सत्ता समीकरणको चर्चा पनि सुरु भएको छ । ६० सदस्यीय प्रदेश सभामा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पदमुक्त भएपछि हाल ५९ सांसद छन्। सरकार गठनका लागि कम्तीमा ३० सांसदको समर्थन आवश्यक पर्छ । हाल नेपाली कांग्रेससँग २७ र एमालेसँग २२ सांसद छन् । नेकपासँग सभामुखबाहेक ६ सांसद छन् । एमाले र नेकपाबीच सहकार्य भए पनि सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन राप्रपाको समर्थन निर्णायक हुने देखिएको छ । राप्रपाका दुई सांसदले नयाँ गठबन्धनलाई समर्थन गर्ने विषयमा हालसम्म स्पष्ट निर्णय गरेका छैनन् । यसअघि कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार २०८३ असार मसान्तपछि मुख्यमन्त्री पाण्डेले एमाले नेता खगराज अधिकारीलाई सत्ता हस्तान्तरण गर्ने अपेक्षा गरिएको थियो । तर केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणसँगै उक्त सहमति कार्यान्वयन हुन सकेन् ।
एमाले र नेकपाबीच नयाँ सत्ता सहकार्यको सहमति बनेपछि अधिकारीलाई मुख्यमन्त्री बनाउने प्रयास अघि बढे पनि राप्रपाको समर्थनबिना आवश्यक बहुमत नपुग्ने अवस्था छ । त्यसैले गण्डकीमा तत्कालै नयाँ सरकार गठन हुने सम्भावना सहज देखिएको छैन । यता, एमाले सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल समाजवादी पार्टी (नेसपा)को समर्थन भने मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई कायमै रहेको कांग्रेस नेताहरूको दाबी छ । राप्रपा तत्काल सरकारमा सहभागी नहुने पक्षमा देखिएको छ । नेसपाका एक मात्र सांसद फणीन्द्र देवकोटालाई भने मुख्यमन्त्री पाण्डेले सरकारमा सहभागी गराउने तयारी गरेको कांग्रेस स्रोतले जनाएको छ । देवकोटा यसअघि पनि दुईपटक मन्त्री भइसक्नु भएको छ । यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा एमालेबाट आफ्नो नेतृत्वको सरकारमा सहभागी चार मन्त्रीलाई धन्यवाद दिनुभएको छ । राष्ट्रिय राजनीतिक परिस्थितिमा आएको परिवर्तनका कारण एमालेका मन्त्रीहरूले सरकारबाट बाहिरिनुपर्ने अवस्था बनेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले उहाँहरुकोे आफ्नो कार्यकालमा गरेको सहकार्य र कार्यसम्पादनको प्रशंसा समेत गर्नुभएको छ ।





