मोदी खोलाको बाढीले मन्दिरमा फसेका पुजारी सहित ३ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

-


     पोखरा क्लिक     
     श्रावण २९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २९ साउन,

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानास्थित नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदी खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका पुजारी सहित तीन जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ । गएराति परेको अविरल वर्षापछि मोदी खोलामा आएको भीषण बाढीले मन्दिरको अधिकांश भागसहित पर्वत र कास्कीतर्फ जोडिएका दुईवटा पुल बगाएपछि मन्दिरमा एक जना पुजारी र दुई जना भक्तजन फसेका थिए ।

घटना भएको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका, कास्कीबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) शरणबहादुर खड्काको कमाण्डमा १३ जनाको रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक विपद् उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन भएको थियो । नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १६ जनाको टोलीसमेत उद्धार कार्यमा खटिएको थियो । उद्धार टोलीले बिहानैदेखि जोखिमपूर्ण अवस्थामा रोप रेस्क्युको तयारी अघि बढाएको थियो । बिहान करिब ७ः३५ बजे सशस्त्र प्रहरी जवान देवराज खनाल र सन्तोष बाँनियाले रोपको सहायताबाट खोलापारि पुगेर उद्धारका लागि आवश्यक रोप बेस तयार गरेका थिए । त्यसपछि सशस्त्र प्रहरी सहायक हवल्दार इन्द्रबहादुर गुरुङ र सशस्त्र प्रहरी जवान जनक बुढा थप सहयोगका लागि खोलापारि पुगेका थिए ।

टोलीले तयार पारेको रोप रेस्क्यु प्रणालीमार्फत बिहान ७ः५५ बजेदेखि ८ः१५ बजेसम्म मन्दिरमा फसेका तीनै जनालाई एक–एक गर्दै सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको शसस्त्र प्रहरीले जनाएको छ । उद्धार गरिएकामा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीस्थित माविमा कार्यरत करिब ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका करिब ५२ वर्षीय पुजारी निर्माण गिरी रहेका छन् । गिरी भारतीय नागरिक हुन् र उनी विगत पाँच वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा कार्यरत रहेको जनाइएको छ । यसैबीच, बाढी र पहिरोका कारण अन्नपूर्ण गाउँपालिका–१० बिरेठाँटी क्षेत्रमा घान्द्रुक जाने सडकखण्डमा ठूलो क्षति पुगेको छ । सडकका विभिन्न स्थानमा गरी करिब २ किलोमिटर सडक बाढीले कटान तथा क्षति पु¥याएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार बिरेठाँटी क्षेत्रमा सडक नै कटान भएकाले तत्काल यातायात सञ्चालन गर्न सकिने अवस्था छैन । सडक मर्मत गरी यातायात सुचारु गर्न केही दिन लाग्न सक्ने उहाँले बताउनुभएको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिका–१० को स्याउली बजारमा दुईवटा घरसमेत बगेका छन् । हालसम्म मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ । घान्द्रुक जाने मुख्य सडक अवरुद्ध भएपछि पोखराबाट घान्द्रुकतर्फ जाने सवारीसाधन बिरेठाँटीमै रोकिएका छन् । घान्द्रुकबाट पोखरा फर्किने यात्रु तथा सवारीसाधनलाई समेत सडक पूर्णरूपमा सञ्चालनमा नआएसम्म सुरक्षित स्थानमै रहन कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले आग्रह गरे ।

बाढीका कारण नयाँपुल क्षेत्रमा विद्युत्को पोलसमेत बगेपछि विद्युत् सेवा अवरुद्ध भएको उनले जनाए । सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि घान्द्रुकलगायत अन्नपूर्ण संरक्षण क्षेत्रका पर्यटकीय गन्तव्यतर्फको आवागमन प्रभावित भएको छ । घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हुनुका साथै अन्नपूर्ण आधार शिविर (एबीसी) र माछापुच्छ्रे आधार शिविरतर्फ जाने प्रमुख प्रवेशमार्ग हो । सडक अवरुद्ध भएपछि घान्द्रुक हुँदै टाढापानी, घोरेपानी, छोमरुङ, सिनुवा तथा अन्नपूर्ण आधार शिविरतर्फ जाने पर्यटकसमेत प्रभावित भएका छन् ।