आजदेखि पोखराका खुद्रा पसलबाटै ग्यास वितरण हुदै, बजारमा ७ हजार भन्दा बढी सिलिण्डर आउने तयारी

-


     पोखरा क्लिक     
     श्रावण २४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २४, साउन,

पोखरामा केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको अभाव कम गर्न प्रशासनले वितरण प्रणालीलाई थप सहज बनाएको छ । अब आज (आइतबार) देखि उपभोक्ताले मुख्य डिलर वा डिपोमा लामो लाइन बस्नुपर्ने बाध्यता हटाउँदै आफ्नै नजिकका अधिकृत खुद्रा तथा किराना पसलबाटै ग्यास खरिद गर्न पाउने भएका छन् ।

पोखरा क्षेत्रका सबै अधिकृत ग्यास खुद्रा पसलबाट ग्यास बिक्री गर्ने गरी व्यवस्था मिलाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । शनिबार ग्यास डिपो तथा बिक्री केन्द्रमा गरिएको अनुगमनपछि प्रशासनले ग्यासको वितरण खुद्रा तहसम्म विस्तार गर्ने निर्णय गरेको उहाँले जनाउनु भयो । यसअघि मुख्य डिलर तथा डिपोमा उपभोक्ताको अत्यधिक भीड लागेपछि ग्यास लिन लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था थियो । खुद्रा पसलबाटै बिक्री सुरु भएपछि उपभोक्ताले घरनजिकैबाट ग्यास पाउने र डिपोमा देखिएको भीड तथा लामो लाइन घट्ने बरालले जनाउनु भयो ।

शनिबार गरिएको अनुगमनका क्रममा पोखराको गगनगौंडास्थित गृहलक्ष्मी र शक्ति ग्यासका डिपोमा करिब ३ हजार भरिएका सिलिण्डर मौज्दात रहेको भेटिएको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो । थप दुई बुलेट ग्यास भर्ने तयारीमा रहेको तथा भारतबाट समेत दुई बुलेट ग्यास पोखरा आउने क्रममा रहेको उहाँले बताउनुभयो । प्रशासनका अनुसार आइतबार पोखरामा मात्रै ७ हजारभन्दा बढी सिलिण्डर बजारमा आउदै छ । गृहलक्ष्मी ग्यासतर्फ आइतबार बिहानसम्म चार बुलेट ग्यास भरेर बजारमा पठाउने तयारी गरिएको छ । भारतबाट थप चार बुलेट ग्यास आउने भएकाले आगामी दिनमा आपूर्ति अझ सहज हुने प्रशासनको अपेक्षा छ । व्यवसायीहरूका अनुसार एउटा बुलेटबाट औसतमा करिब १ हजार २ सय सिलिण्डर ग्यास भर्न सकिन्छ ।

ग्यास व्यवसायीहरूले उपभोक्तालाई आवश्यकता भन्दा बढी सिलिण्डर घरमा मौज्दात नराख्न आग्रह गरेका छन्। पछिल्ला केही दिनमा बजारमा सामान्य अवस्थाको तुलनामा भरिएका सिलिण्डरको माग अस्वाभाविक रूपमा बढेको गृहलक्ष्मी ग्यासका सञ्चालक धर्मराज बर्तौलाले बताउनुभयो । उहाँका अनुसार करिब पाँच वर्ष पुराना सिलिण्डर एकैपटक बजारमा ल्याइनुका साथै होटल तथा रेष्टुरेन्टमा प्रयोग भइरहेका धेरै सिलिण्डर पनि बजारमा आउँदा आपूर्ति व्यवस्थापनमा थप चाप परेको हो । ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष नारायण दाहालले आइतबारदेखि पोखरा क्षेत्रमा ग्यासको बिक्री सहज हुने पोखराक्लिकलाई बताउनुभयो । यसअघि पनि शुक्रबारदेखि खुद्रा पसलबाट ग्यास वितरण गर्ने योजना बनाइएको भए पनि उपभोक्ताहरू रातिदेखि नै सप्लायर्सका पसलअगाडि लाइनमा बस्न थालेपछि त्यहीँबाट ग्यास वितरण गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । अब मुख्य डिपोमा मात्रै निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै खुद्रा तहबाट वितरण गरिने भएकाले उपभोक्ताको समय बचत हुनुका साथै भीडसमेत घट्ने अपेक्षा गरिएको छ । प्रशासनले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा मौज्दात राख्ने वा उपभोक्तालाई समस्या पर्ने गरी बिक्री वितरण गर्ने कार्य नगर्न व्यवसायीलाई सचेत गराएको छ । पोखरामा १७ भन्दा बढी ब्रान्डका ग्यास भित्रिने गरेको व्यवसायीहरूले बताएका छन्।