गण्डकी पदकबाट खेल पत्रकार केशव पाठक सम्मानित

-


     पोखरा क्लिक     
     असार ३० गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराका खेल पत्रकार केशव पाठक ’गण्डकी खेल पदक’ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले स्थापना गरेको ‘प्रदेश खेलकुद पदक’ अन्तर्गत खेलकुद पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पाठकलाई परिषदले आज(मंगलबार) पोखरामा आयोजित एक समारोहका बिच सम्मान गरेकोे हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सचिव शेषनारायण पौडेल,गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्मा, मन्त्रालयका शाखा अधिकृत टंक प्रसाद ढकाल लगायतले सम्मान प्रदान गरेका थिए ।

सम्मानसँगै उनलाई नगद रु. २० हजार समेत प्रदान गरिएको परिषद्ले पोखराक्लिकलाई जनाएको छ । सम्मान ग्रहणपछि पाठकले गण्डकी प्रदेश खेलकुद परिषद्प्रति हार्दिक आभार व्यक्त गर्दै यो सम्मानले आफूलाई नेपाली क्रिकेट तथा समग्र खेलकुद पत्रकारिताको विकासमा अझ जिम्मेवार र समर्पित भएर योगदान गर्न थप प्रेरणा दिएको बताए । खेलकुद पत्रकारितामा तीन दशकभन्दा बढी समयदेखि निरन्तर योगदान पु¥याउँदै आएका पाठक पोखरा स्पोट्र्सका सम्पादक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष समेत हुन् । उक्त अवसरमा परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र विभिन्न खेल संघहरूलाई समेत खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरेको छ ।