अन्नपूर्ण संरक्षण क्षेत्रमा १ हजार ४ सय १३ होटल सञ्चालनमा,एकै रातमा २६ हजार भन्दा बढी पर्यटकलाई राख्न सकिने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असार २५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २५ असार,

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्यटन पूर्वाधार उल्लेखनीय रूपमा विस्तार भएको छ । हाल संरक्षण क्षेत्रभित्र १ हजार ४ सय १३ वटा होटल तथा पर्यटकीय आवास सञ्चालनमा रहेका छन् भने एकै रातमा २६ हजार ८ सय ६१ पर्यटकलाई आवास सुविधा उपलब्ध गराउने क्षमता रहेको एक्याप पोखराका प्रमुख डा. रविन कँडरियाले बताउनु भयो ।

संरक्षण क्षेत्रका होटलमा ११ हजार ७ सय २१ कोठा रहेका छन् भने निजी क्षेत्रबाट सञ्चालित होटल तथा पर्यटकीय व्यवसायले १ हजार ७ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको उहाँले दाबी गर्नुभयो । एक्यापका प्रमुख डा.कँडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रबाट हरेक वर्ष करिब १० अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने गरेको दाबी गर्नु भयो । एक्याप पोखराले हालै पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङक सार्वजनिक गरेको हो । संरक्षण क्षेत्रको पर्यटन क्षमता, स्थानीय रोजगारी र आर्थिक गतिविधि निरन्तर विस्तार भइरहेका बेला पछिल्लो समय पदमार्गमा पर्यटक आगमन पनि उल्लेखनीय रूपमा बढेको कडरियाले जनाउनु भयो । उहाँका अनुसार पछिल्लो डेढ महिनामै करिब १ लाख २० हजार भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रका विभिन्न पदमार्ग पुगेका छन् । तेस्रो मुलुकका पर्यटकहरू प्रायः सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा बढी आउने भए पनि भारतीय पर्यटकको चहलपहल भने वैशाखदेखि हालसम्म निरन्तर रहेको उहाँले जानकारी दिनुभयो। एक्यापका अनुसार संरक्षण क्षेत्रभित्र सञ्चालित १ हजार ४ सय १३ होटलमध्ये १ हजार ३२ वटा निजी जग्गामा रहेका छन् भने ३ सय ८१ वटा होटल सार्वजनिक तथा सरकारी जग्गामा सञ्चालनमा छन्। सार्वजनिक जग्गामा सञ्चालन भइरहेका होटललाई व्यवस्थित गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको एक्यापको भनाइ छ ।

डा. कँडरियाले संरक्षण क्षेत्रभित्र वर्षौंदेखि सार्वजनिक जग्गामा पर्यटन संरचना निर्माण हुँदै आएको उल्लेख गर्दै हालको कानुनी व्यवस्थाले तत्काल ती संरचनालाई हटाउने वा नियमित रूपमा भाडा तथा राजस्व संकलन गर्ने स्पष्ट आधार नदिएको बताउनुभयो। यसका लागि संघीय तहबाट आवश्यक कानुनी तथा नीतिगत व्यवस्था भएपछि व्यवस्थापन प्रक्रिया थप प्रभावकारी हुने उहाँको विश्वास छ । सार्वजनिक गरिएको विवरणअनुसार मर्दी पदमार्गमा १०३, अन्नपूर्ण–तिलिचो पदमार्गमा ९२, घोडेपानी–घान्द्रुक–अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा ९१, हुगु–कोरी–क्रापु पदमार्गमा ३२, माछापुच्छ्रे मोडेल ट्रेकमा २७, हिडेन लेक क्षेत्रमा १६, खोप्रा पदमार्गमा ६, नर्थ एबीसी क्षेत्रमा ६, भुजुङ–नायु हेरिटेज ट्रेकमा ४, अपर मुस्ताङमा २ तथा अन्य क्षेत्रमा २ वटा होटल सार्वजनिक जग्गामा सञ्चालनमा रहेका छन्। त्यस्तै व्यवस्थापन एकाइका आधारमा मनाङमा सबैभन्दा बढी ३ सय ७५ होटल सञ्चालनमा छन्। त्यसपछि घान्द्रुकमा ३ सय २५, जोमसोममा २ सय ७६, ल्वाङमा २ सय ४३, लोमान्थाङमा ७९, सिक्लेसमा ६८ र भुजुङमा ४७ होटल सञ्चालनमा रहेका छन्।

एक्याप पोखराका डा.राजनप्रसाद पौडेलका अनुसार २०७२ सालअघि सार्वजनिक जग्गा प्रयोग गर्ने होटलहरूले वार्षिक करिब ४० हजार रुपैयाँका दरले जग्गा भाडा बुझाउँदै आएका थिए । संघीय संरचनापछि उक्त रकम पालिकालाई बुझाउने कि एक्यापलाई बुझाउने भन्ने कानुनी स्पष्टता नहुँदा हालसम्म भाडा तथा राजस्व संकलनमा अन्योल कायम रहेको उहाँले पोखराक्लिकलाई बताउनुभयो । आवश्यक कानुनी व्यवस्था भएपछि सार्वजनिक जग्गाको व्यवस्थापन, राजस्व संकलन र पर्यटन पूर्वाधारलाई थप व्यवस्थित बनाउन सहज हुने उहाँको भनाइ छ। सन् १९८६ मा स्थापना भएको अन्नपूर्ण संरक्षण क्षेत्र नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो । ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ जिल्लाका १६ स्थानीय तह र करिब १०० वडामा फैलिएको छ । यसको व्यवस्थापन नेसनल ट्रष्ट फर नेचर कन्जरभेसन (एनटीएनसी) ले नेपाल सरकारसँगको सहकार्यमा गर्दै आएको छ । एक्यापका अनुसार संरक्षण क्षेत्रको ५ प्रतिशत भूभाग हिम क्षेत्र, १५ प्रतिशत वन क्षेत्र र २१ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । विगत चार दशकदेखि जैविक विविधता संरक्षणसँगै दिगो पर्यटन प्रवद्र्धनमा काम गर्दै आएको एक्यापले पर्यटन पूर्वाधार, स्थानीय सहभागिता र संरक्षणबीच सन्तुलन कायम गर्दै अन्नपूर्ण क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको आकर्षक गन्तव्यका रूपमा विकास गरिरहेको जनाएको छ ।