
पोखरा,
गण्डकी प्रदेशमा मुटुरोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विशिष्टीकृत मुटु उपचार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। पोखरामा आयोजित ‘गण्डकी हार्ट मिट–२०२६’ मा सहभागी चिकित्सक, जनप्रतिनिधि, नीतिनिर्माता र सरोकारवालाले मुटुरोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्दै गण्डकीमै पूर्ण क्षमताको कार्डियाक सेन्टर स्थापना गर्नुपर्नेमा जोड दिएका हुन्।
‘गण्डकीमा मुटुरोगमाथि विजय : सबैका लागि एउटै साझा दृष्टिकोण’ भन्ने नारासहित हेल्दी हार्ट नेपाल र गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पोखरा महानगरपालिकाका प्रमुख, चिकित्सक, अनुसन्धानकर्ता, विकास साझेदार तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।कार्यक्रममा गण्डकी प्रदेशमा मुटु रोगको वर्तमान अवस्था, उपचार सेवाको पहुँच, कार्डियाक इन्टरभेन्सन, मुटु शल्यचिकित्साको आवश्यकता, रेफरल प्रणाली, रोकथाम, पुनःस्थापना तथा भावी रणनीतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए ।
पोखरामै उपचार नपाउँदा लाखौं खर्च
कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै पत्रकार यदुनाथ बञ्जरा ले डेढ वर्षअघि मुटुमा समस्या देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौं लैजानुपरेको बताए । उनका अनुसार पोखराबाट काठमाडौं लैजान मात्रै हेलिकोप्टरको भाडा ४ लाख २० हजार रुपैयाँ खर्च भएको थियो भने करिब एक महिनाको उपचार र बसाइमा झण्डै २० लाख रुपैयाँ खर्च भयो । “यदि पोखरामै विशिष्टीकृत मुटु उपचार सेवा भएको भए उपचार खर्च मात्रै होइन, परिवारले भोग्नुपरेको मानसिक र आर्थिक पीडा पनि धेरै कम हुने थियो,” उनले भने। उनले गण्डकीका बिरामीलाई काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्न प्रदेशमै अत्याधुनिक मुटु उपचार केन्द्र स्थापना गर्न ढिलाइ गर्न नहुने बताए।
समयमै उपचार नपाउँदा ज्यान गुमाएको पीडा
गत कात्तिकमा सिक्लेस भ्रमणका क्रममा हृदयघातबाट ज्यान गुमाएका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराई का भाइ गणेशबहादुर भट्टराई ले समयमै उपचार सुविधा नपाउँदा आफ्नो दाजुलाई गुमाउनुपरेको पीडा सुनाए।
“एक्कासि समस्या देखियो। समयमै आवश्यक उपचार पाउन नसक्दा दाजुलाई बचाउन सकिएन। घर फर्किएपछि उहाँसँग अन्तिमपटक के कुरा भयो भन्ने सम्झना मात्रै बाँकी रह्यो,” उनले भावुक हुँदै भने।
उनले पोखरा अन्तर्राष्ट्रिय पर्यटन सहर भएकाले यहाँ आउने विदेशी पर्यटकले समेत मुटु उपचारको अवस्था सोध्ने गरेको उल्लेख गर्दै विशिष्टीकृत कार्डियाक सेवा सञ्चालन भए पर्यटन क्षेत्रलाई समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
मुटुरोग नेपालको प्रमुख स्वास्थ्य चुनौती
कार्यक्रमका अगुवा तथा मनमोहन कार्डियोभास्कुलर एण्ड थोरासिक सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटा ले नेपालमा हृदय तथा रक्तनलीसम्बन्धी रोग बिरामीपन, अशक्तता र अकाल मृत्युको प्रमुख कारणमध्ये एक बनिसकेको बताए । उनले मुटुरोग नियन्त्रणका लागि नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, समयमै रोग पहिचान तथा सहज उपचार सेवामा नागरिकको पहुँच विस्तार अपरिहार्य रहेको बताए । डा. देवकोटाका अनुसार गण्डकी हार्ट मिटको उद्देश्य प्रदेशमा मुटुरोग रोकथाम, प्रारम्भिक निदान, रेफरल प्रणाली, उपचार तथा दीर्घकालीन हृदय हेरचाह प्रणालीलाई सुदृढ बनाउनुका साथै सरकारी निकाय, शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरू र विकास साझेदारबीच सहकार्य बढाउनु हो।
विशिष्टीकृत मुटु उपचार केन्द्र स्थापनामा सरकारको प्रतिबद्धता
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले प्रदेशमा बढ्दो मुटुरोगको चुनौतीलाई सम्बोधन गर्न विशिष्टीकृत मुटु उपचार केन्द्र स्थापना गर्ने दिशामा प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए। उनले मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार र दीर्घकालीन हेरचाह प्रणालीलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
दुई बुँदे साझा प्रतिबद्धता सार्वजनिक
कार्यक्रमको अन्त्यमा आयोजित उच्चस्तरीय प्यानल छलफलपछि सरोकारवालाले दुई बुँदे न्यूनतम साझा प्रतिबद्धता सार्वजनिक गरेका छन्।
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. युवानिधि बसौला का अनुसार प्रतिबद्धतामा मुटुरोगलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा स्वीकार गर्दै रोकथाम, जनचेतना र प्रारम्भिक पहिचानमा एकीकृत प्रयास गर्ने तथा विद्यमान पूर्वाधारको अधिकतम उपयोग गर्दै सहकार्यमार्फत गण्डकी प्रदेशमा मुटु उपचार सेवाको थप विकास र विस्तार गर्ने उल्लेख गरिएको छ।
क्याथ ल्याब छ, तर मुटुको शल्यचिकित्सा अझै काठमाडौंमै
हाल गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र चरक मेमोरियल अस्पताल मा क्याथ ल्याबसहित मुटुरोगको प्रारम्भिक तथा इन्टरभेन्सन सेवा उपलब्ध छ। तर, ओपन हार्ट सर्जरीसहितको पूर्ण मुटु शल्यचिकित्सा सेवा र कार्डियाक सर्जनको अभाव का कारण जटिल प्रकृतिका बिरामी अझै पनि काठमाडौं र अन्य केन्द्रमा जान बाध्य छन्।
सहभागीहरूले प्रदेशमा विशिष्टीकृत कार्डियाक सेन्टर स्थापना, दक्ष जनशक्ति उत्पादन, अत्याधुनिक उपकरण व्यवस्थापन तथा उपचार सेवाको विस्तार गर्न सके गण्डकी प्रदेशका मात्रै नभई छिमेकी प्रदेशका नागरिकले समेत सहज र सुलभ रूपमा मुटु उपचार सेवा पाउने विश्वास व्यक्त गरेका छन्।






