पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महासचिव शोभा गौतमको उम्मेदवारी घोषणा

-


     पोखरा क्लिक     
     असार २५ गते २०८३ मा प्रकाशित


पोखरा, २५ असार,

पोखरा उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ। सङ्घको ३६औँ महाधिवेशन आगामी भदौ २० र २१ गते हुने निर्णयसँगै वर्तमान महासचिव शोभा गौतमले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको हो।

सङ्घको बिहीबार बसेको ३०औँ कार्यसमिति बैठकले ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभा भदौ २० र २१ गते गर्ने निर्णय गरेलगत्तै गौतमले उद्योगी–व्यवसायी समुदायलाई सम्बोधन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो। उम्मेदवारीसँगै उहाँले “विश्वास तपाईंहरूको, जिम्मेवारी मेरो भन्ने नारासहित व्यवसायीहरूको साथ, विश्वास र सहयोगको अपेक्षा गर्नुभएको छ। गौतमले आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिगत महत्वाकांक्षाका रूपमा नभई अनुभव, समावेशी नेतृत्व र संस्थागत रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले ूपदभन्दा काम ठूलो हुन्छू भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विगतका जिम्मेवारीमा इमान्दारिता, निष्ठा र समर्पणका साथ काम गरेको उल्लेख गर्नुभएको छ।

ूनेतृत्वको वास्तविक परिचय पदले होइन, कामले दिन्छ,ू उहाँले अपिलमा उल्लेख गर्दै अध्यक्षको भूमिकालाई अवसरभन्दा पनि सेवा गर्ने माध्यमका रूपमा लिएको बताउनुभएको छ। पोखरा उद्योग वाणिज्य सङ्घको इतिहासमा हालसम्म कुनै पनि महिला अध्यक्ष निर्वाचित नभएको स्मरण गराउँदै गौतमले आफ्नो उम्मेदवारीलाई नयाँ इतिहास रच्ने अवसरका रूपमा लिन उद्योगी–व्यवसायीसँग आग्रह गर्नुभएको छ। उहाँले आफूलाई उद्योगी–व्यवसायी समुदायकै ुछोरी–चेलीु का रूपमा प्रस्तुत गर्दै संस्थाप्रतिको विश्वासलाई अझ ठूलो जिम्मेवारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

विगतमा सङ्घका विभिन्न उपसमितिमा सक्रिय भूमिका निर्वाह गर्दै कार्यसमिति सदस्य, उपमहासचिव हुँदै पहिलो महिला महासचिव बन्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै उहाँले त्यो यात्रा व्यवसायी समुदायले दिएको विश्वास र साथकै परिणाम भएको बताउनुभएको छ। गौतमले आफ्नो नेतृत्व पारदर्शिता, सुशासन, उत्तरदायित्व र सबैलाई समेट्ने कार्यशैलीमा आधारित हुने स्पष्ट पार्दै पोखरा उद्योग वाणिज्य सङ्घलाई अझ सशक्त, समावेशी, व्यवसायीमैत्री र भविष्यमुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ।उहाँले आगामी केही दिनभित्र आफ्नो नेतृत्व टोली, साझा दृष्टिकोण, प्राथमिकता र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने जानकारी पनि दिनुभएको छ।यसअघि नै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने संकेत दिँदै आउनुभएकी गौतमले अहिले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेसँगै पोखरा उद्योग वाणिज्य सङ्घको नेतृत्व चयन प्रक्रिया थप रोचक बनेको छ। यदि उहाँ निर्वाचित हुनुभयो भने सङ्घको सात दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने इतिहास रच्नुहुनेछ।

नयाँ नेतृत्व चयन हुँदै

पोखरा उद्योग वाणिज्य सङ्घको विधानअनुसार आगामी महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका दुई उपाध्यक्ष, कोषाध्यक्ष, उपमहासचिव तथा १५ जना कार्यसमिति सदस्यसहित नयाँ नेतृत्व चयन गर्नेछ। सदस्यमध्ये एक जना औद्योगिक, चार जना वस्तुगत र १० जना खुलातर्फबाट निर्वाचित हुने व्यवस्था रहेको छ। निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य रहने प्रावधान पनि विधानमा छ।महाधिवेशनको मिति घोषणा भएसँगै अब पोखरा उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयनका लागि चुनावी गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।