स्पेन र बेल्जियमको जित, पोर्चुगल र अमेरिका पराजित

-


     पोखरा क्लिक     
     असार २३ गते २०८३ मा प्रकाशित


काठमाडौं,

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ का खेलमा स्पेन र बेल्जियमले प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। स्पेनले पोर्चुगललाई तथा बेल्जियमले सहआयोजक अमेरिका पराजित गर्दै उपाधि यात्रालाई निरन्तरता दिएका हुन्।

अमेरिकाको सियाटलमा मंगलबार बिहान सम्पन्न खेलमा बेल्जियमले घरेलु टोली अमेरिकामाथि ४–१ को फराकिलो जित दर्ता गर्‍यो। बेल्जियमको शानदार जितमा चार्ल्स डे केटलेर नायक बने। उनले दुई गोल गर्दा हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। खेलको नवौं मिनेटमै डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। तर ३१औँ मिनेटमा मलिक टिलम्यानले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई १–१ को बराबरीमा फर्काए। बराबरीको खुसी अमेरिकाले धेरैबेर टिकाउन सकेन। त्यसको दुई मिनेटपछि नै डे केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए। दोस्रो हाफको ५७औँ मिनेटमा हान्स भानकेनले गोल थपेपछि बेल्जियमले खेलमा मजबुत पकड बनायो। इन्जुरी समयको अन्त्यतिर रोमेलु लुकाकुले अर्को गोल गर्दै बेल्जियमको ४–१ को प्रभावशाली जित सुनिश्चित गरे। यस जितसँगै बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। सन् २०१८ मा तेस्रो स्थान हासिल गरेको बेल्जियम २०२२ संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो। अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

उता, अमेरिकाको डलासमा भएको अर्को रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। कडा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि निर्धारित ९० मिनेटसम्म गोल हुन सकेन। खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिइरहेका बेला दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासलाई सदुपयोग गर्दै मिकेल मेरिनोले निर्णायक गोल गरे। मेरिनोको त्यो एकमात्र गोल स्पेनलाई अन्तिम आठमा पुर्‍याउन पर्याप्त बन्यो। खेलभर बल नियन्त्रण, आक्रमण निर्माण तथा गोलतर्फका प्रहारमा स्पेन पोर्चुगलभन्दा प्रभावशाली देखिएको थियो। हारसँगै पोर्चुगलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ। अघिल्लो संस्करणमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो। विश्व च्याम्पियन बनेको सन् २०१० पछि पहिलो पटक स्पेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो। २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ र २०२२ का दुवै संस्करणमा अन्तिम १६ मै रोकिएको थियो। अब क्वार्टरफाइनलमा दुई युरोपेली शक्तिराष्ट्र स्पेन र बेल्जियम आमनेसामने हुनेछन्। दुवै टोली उत्कृष्ट लयमा रहेकाले यो भेट विश्वकपकै सबैभन्दा प्रतीक्षित प्रतिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ।