
दीननाथ बराल,
पोखरा २२, असार,
मुग्लिन–पोखरा सडक (पश्चिम खण्ड) आयोजनाको भौतिक प्रगति ८२.२७ प्रतिशत तथा वित्तीय प्रगति ७२.१७ प्रतिशत पुगेको छ । तनहुँको जामुनेदेखि कास्कीको सेती पुलसम्मको ३८.७१ किलोमिटर सडक स्तरोन्नत्ती गर्ने अभियान अन्र्तगत हालसम्म भौतिक प्रगति ८२.२७ प्रतिशत तथा वित्तीय प्रगति ७२.१७ प्रतिशत भएको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।
चार तथा सेवा लेनसहित स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो । हालसम्म ३८.३६ किलोमिटर मुख्य सडक चार लेनमा निर्माण, ३७.२८ किलोमिटरमा दोस्रो तहको कालोपत्रे, २३.५२ किलोमिटर सेवा लेन, १२ वटै पुल, १०५ वटा कल्भर्ट तथा ६०.१४ किलोमिटर नाली निर्माण सम्पन्न भएको आयोजनलो जनाएको छ । साथै १७ किलोमिटर क्षेत्रमा डब्लु–बिम (रोड सेफ्टी ब्यारियर) जडान भइसकेको छ भने थर्मोप्लास्टिक रोड मार्किङ र सुरक्षा ब्यारियर जडानको काम जारी रहेको आयोजना प्रमुख कुवंरले पोखराक्लिकलाई जनाउनु भयो ।
आयोजना प्रमुख कुँवरका अनुसार निर्माण कम्पनीको मागअनुसार आयोजनाको म्याद पाँच महिना थप गरी आगामी मंसिर १० गते (२०८३) सम्म पु¥याइएको छ । यस वर्ष मनसुन समयभन्दा अगाडि सुरु हुनु, पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका कारणले निर्माण कार्य प्रभावित भएकाले म्याद थप गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले आयोजनाको प्रमुख समस्या पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेका २९ वटा विद्युत् पोल स्थानान्तरण हुन नसक्नु हो। अन्य सबै क्षेत्रमा साइट क्लियर भइसके पनि ती पोल नहटाइएकाले केही काम प्रभावित भएको उहाँले गुनासो गर्नुभयो ।
यसैबीच, पोखराको सेती नदीमाथि निर्माणाधीन १९० मिटर लामो सिग्नेचर (एक्स्ट्रा डोज्ड केबल स्टे) पुलको समग्र भौतिक प्रगति ६३.८४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६२.३२ प्रतिशत रहेको छ । पुलका १२० वटै पाइल फाउन्डेसन, चारवटै पाइल क्याप तथा चारवटै टावर निर्माण सम्पन्न भइसकेका छन्। सेती पुलको उत्तरतर्फ रहेको जग्गा विवाद समाधान भएसँगै पहिलो किस्ताको भुक्तानी समेत भइसकेको आयोजना प्रमुख कुँवरले जानकारी दिनुभयो। दक्षिणतर्फको संरचनामा गर्डर निर्माण सम्पन्न भई स्ल्याब ढलानको तयारी भइरहेको छ । निर्माण कम्पनीले आगामी दशैंअघि उत्तरतर्फको पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम गरिरहेको र त्यसका लागि आवश्यक निर्माण कार्यलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षभित्र सम्पूर्ण सडक चार÷छ लेनमा सम्पन्न गर्ने तथा सेती पुलको सुपरस्ट्रक्चर निर्माण पूरा गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । हाल सेवा लेन निर्माण, पोखरा विश्वविद्यालय अगाडि रिइन्फोस्र्ड सोइल वाल, सडक सुरक्षा ब्यारियर तथा रोड मार्किङ लगायतका काम एकसाथ अघि बढिरहेका छन्। आयोजना सम्पन्न भएपछि मुग्लिन–पोखरा सडकखण्डको यात्रा थप सुरक्षित, सहज र छिटो हुने अपेक्षा गरिएको छ ।






