लेउवा संघमा महिला जनप्रतिनिधि तथा उद्यमीका लागि नेतृत्व सीप विकास तालिम

-


     पोखरा क्लिक     
     असार १८ गते २०८३ मा प्रकाशित


लेखनाथ, १८ असार,

लेखनाथ उद्योग वाणिज्य संघमा महिला जनप्रतिनिधि तथा उद्यमीहरूका लागि नेतृत्व सीप विकास विषयक तीन दिने प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । असार १६ गतेदेखि ३ दिन सम्म सञ्चालन भएको उक्त तालिम विहिबार समापन गरिएको हो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरले आयोजना, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित तालिममा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठले नेतृत्व र उद्यमशीलता दुवै एकअर्कासँग जोडिएको भन्दै उद्यमी बन्न सक्नु नै ठूलो उपलब्धि हुने बताएका थिए । उनले प्रशिक्षणले सहभागीहरूको भावी जीवनमा सिकेका कुरा व्यवहारमा उतार्न प्रेरित गरोस् भन्ने अपेक्षा व्यक्त गरेका थिए । सिकेका कुरा तत्काल प्रयोगमा ल्याउँदै जाने र त्यसबाट थप सिक्दै जाने प्रक्रियालाई नै “लर्निङ बाई डुइङ“ भनिने उल्लेख गर्दै उनले महानगरपालिका र संघले उपलब्ध गराएको समय र स्रोतको सदुपयोग सहभागीहरूको भावी व्यवहार परिवर्तनबाटै प्रमाणित हुने बताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले सकारात्मक सोच र विचार लिएर अगाडि बढ्न सहभागीहरूलाई आग्रह गरेकी थिईन । समस्या आइपरे संघमार्फत नै समाधान खोज्न सकिने बताउँदै उनले संघले नीतिगत तहमै पैरवी गरेर परिवर्तन ल्याएका उदाहरण पनि प्रस्तुत गरेकी थिईन । कार्यक्रममा वडा सदस्य उमा परियारले सहभागिको तर्फबाट मन्तब्य ब्यक्त गर्दै तालिम उपयोगी र फलदायी भएको बताएकी थिईन । सञ्चारकर्मीहरु दिपेन्द्र श्रेष्ठ, सरिता तिमिल्सीना पँगेनी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यष जानुका पराजुली, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका हेमाराज थापा लगायतले प्रशिक्षण दिएका थिए । संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन संघकी उप–महासचिव गंगा मल्लले गरेकी थिईन ।