कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक छः संयोजक प्रचण्ड (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असार १७ गते २०८३ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १७, असार,

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूसंग सहकार्य आवश्यक रहेको बताउनु भएको छ । नेकपा गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिस्ट पार्टीहरूसंग बीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक रहेको बताउनु भएको हो ।

सहकार्यका क्रममा विचार, नीति र कार्यशैलीमा समानता देखिएपछि मात्रै न्यूनतम आधारमा पार्टी एकीकरण हुने उहाँको भनाई थियो । विगतमा एमाले र नेपाली कांग्रेससँग समेत सहकार्य गरिएको स्मरण गराउँदै राष्ट्रिय आवश्यकता अनुसार राजनीतिक सहकार्य हुन सक्ने उहाँको भनाई थियो । संयोजक प्रचण्डले भन्नुभयो “अहिले राष्ट्रिय स्वाधिनता माथि देखा परेको संकट समाधानको निम्ति देशभक्तहरु, लोकतन्त्रबादी र बामपन्थीहरुसंग सहकार्य गर्नुपर्छ । हाल पार्टी एकता सम्भव छैन, पार्टीहरुसंग सहकार्य गर्दै जादा विचार, भावना मिल्दै गएको अबस्थामा मात्र पहिलाकै जस्तो हुदैन भन्ने न्यूनतम ग्यारेन्टि नगरी पार्टी एकता हुदैन् ।” नयाँ पार्टी बनाउने नयाँ बर्ग सघर्ष सुरु गर्ने संयोजक प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो “ हामीले यो पार्टी नेतृत्व छोडेर रुपान्तरण हुन्छ भने हामीले छोड्न तयार छौं , एकता गर्ने समयमा माधव कुमार नेपालसंग धेरै कुरा भएको छ, नेतृत्वमा हामी नै बस्नु पर्छ भन्ने मोह हामीमा छैन् । हामीले नयाँ विधि, नीति र प्रकृयाबाट नयाँ नेताहरुको टिम निर्माण गर्नुपर्छ भनिएकै छ । ”

जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको बताउदै संयोजक प्रचण्डले देशलार्ई अर्को दुर्घटनाबाट जोगाउन तत्कालीन राजनीतिक परिस्थितिमा अन्तरिम सरकार स्वीकार गर्नुपरेको बताउनु भयो । उहाँले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर आफू, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले देशमा पुनः असामान्य अवस्था सिर्जना हुन नदिन छलफल गरेको दाबी गर्नुभयो । प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको दाबी गर्दै आफूहरू संसद् विघटनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । “अन्तरिम सरकारको प्रधानमन्त्री सिफारिस केपी ओलीजीले नै गर्नुभएको हो। हामीले देशलाई अर्को दुर्घटनातर्फ जानबाट बचाउन त्यसलाई स्वीकार गरेका हौं। नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै हुनुपर्छ भन्ने हाम्रो अडान अन्तिम समयसम्म कायम थियो,“ उहाँले भन्नुभयो ।

निर्वाचनको समीक्षा गर्दै भदौ २४ गतेको घटनाक्रमलाई प्रतिकान्तिको रुपमा निर्वाचनको परिणाम आएको जुन नतिजा माथि हाल उहाँले शंका गर्नु भएको छ । संयोकज प्रचण्डले अहिले देशले गम्भीर चुनौतीको सामना गरिरहेको दाबी गर्दै सुकुम्बासी, विद्यार्थी, ट्रेड युनियन, सीमा र मधेसका मुद्दामा जनताको भावना विपरीत काम भइरहेको आरोप लगाउनु भयो । “जनताको वर्गीय अधिकार र राष्ट्रिय स्वाभिमान माथि प्रहार भइरहेको छ । अब फेरि एकपटक क्रमभंग आवश्यक छ,“ उहाँले भन्नुभयो । पार्टी नेतृत्वबारे बोल्दै आफू र सहसंयोजक माधवकुमार नेपाललाई “सच्याउन वा हटाउन“ चुनौती दिँदै नेतृत्व व्यक्तिको उमेरभन्दा विचार, क्षमता र नयाँ सोचले निर्धारण हुने दाबी गर्नुभयो । भारत, चीन र अमेरिकाका ६०–७० वर्ष उमेर समूहका नेताले पनि नेतृत्व गरिरहेको उदाहरण प्रस्तुत गर्दै उहाँले नेपालको सन्दर्भमा उमेरलाई मात्र आधार बनाएर नेतृत्वको मूल्यांकन गर्नु उचित नहुने धारणा राख्नुभयो । कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन विचारमा परिवर्तन आवश्यक रहेको प्रचण्डको भनाई थियो । “मैले क्रमभंगको कुरा गर्दा कतिपयले उत्पात गर्न खोज्यो भन्छन्। तर प्रकृति, समाज र मानव समाजको नियम नै निरन्तरतामा क्रमभंग हो,“ उहाँको भनाई थियो । कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन छाडेर अन्यत्र गएका नेताहरूको राजनीतिक अवस्था “यता न उता“ भएको टिप्पणी गर्नुभयो । कम्युनिस्ट शक्तिहरूबीच वैचारिक स्पष्टता, संगठनात्मक एकता र जनतासँगको सम्बन्धलाई बलियो बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । उक्त कार्यक्रममा प्रदेशका नेता तथा कार्यकर्ताको उल्लेखनिय सहभागिता रहेको नेकपाले जनाएको छ । तष्विर एआई जेनेरेटेड।