
काठमाडौं,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भइसकेको निगमले पोखराक्लिकलाई जनाएको छ।
नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको छ । मूल्य समायोजनपछि पेट्रोल पहिलो वर्गका क्षेत्रमा १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ प्रतिलिटर कायम भएको छ। त्यस्तै, डिजेलरमट्टितेल पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ ।
एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ थियो । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्यसमेत घटेर आएपछि स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको हो।
आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि मूल्य प्रतिकिलोलिटर १,५६६ अमेरिकी डलर तोकिएको छ, जुन अघिल्लो मूल्यभन्दा २६५ अमेरिकी डलर कम हो। पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने ‘ब्रेक–इभेन’ बिन्दुमा क्रमशः १,१०० अमेरिकी डलर र १,०८५ अमेरिकी डलर प्रतिकिलोलिटर मूल्य कायम गरिएको निगमले जनाएको छ।







