
दीननाथ बराल,
पोखरा, असार १४,
गण्डकी प्रदेशमा एचआईभी संक्रमणको अवस्था अझै पनि चुनौतीपूर्ण अबस्थामा रहेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को वैशाखसम्मको तथ्याङ्क अनुसार प्रदेशमा एचआईभी संक्रमितको संख्या ३ हजार १ सय ७१ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै संक्रमित कास्की जिल्लामा रहेका छन्। कास्कीमा मात्रै १ हजार ६ सय २९ जना एचआईभी संक्रमित रहेको आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
आज (आइतबार) पोखरा महानगरपालिका–७ वडा कार्यालयमा आयोजित एचआईभी तथा एड्समा हुने लाञ्छना र विभेद न्यूनीकरणका लागि जनप्रतिनिधि, प्रहरी, पत्रकार तथा अन्य जोखिम समूहका लागि अन्तरक्रिया एवं अभिमुखीकरण कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश, पोखराका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यौलाले सार्वजनिक गर्नुभएको हो । आर्थिक वर्ष २०८२÷८३ वैशाखसम्म गण्डकीमा पुरुष १ हजार ६ सय १९, महिला १ हजार ५ सय ४१, अन्य ११ जना एचआईभी संक्रमित रहेको उहाँले बताउनु भयो । त्यसै गरी तनहुँमा २६०, गोरखामा २४०, बागलुङमा २१८, पूर्वी नवलपुरमा १६२, लमजुङमा १३९, म्याग्दीमा ९५, स्याङ्जामा ३४४ र पर्वतमा ८४ जना संक्रमित रहेका छन् । उहाँहरुले एआरटि सेवा लिनु भएको छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यले एचआईभीबारेको सचेतना टोल–टोल र वडा–वडासम्म विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। अझ बढी प्रभावित क्षेत्रलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी सहायक निरीक्षक रञ्जना कुँवरले अझै पनि केही बालबालिका यौन व्यवसायमा संलग्न हुने गरेको जानकारी आएको उल्लेख गर्दै उमेर नपुगेका बालबालिकासँग यौन सम्पर्क राख्नु कानुनअनुसार जबर्जस्ती करणीको कसुर हुने बताउनुभयो। यस्ता गतिविधि रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो।
एचआईभीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका मनोज गुरुङले नेपाली समाजमा अझै पनि एचआईभीबारे पर्याप्त सचेतना फैलिन नसकेको बताउनुभयो। पछिल्ला वर्षहरूमा सञ्चारमाध्यममा पनि एचआईभी सम्बन्धी विषयले अपेक्षित प्राथमिकता नपाएको भन्दै उहाँले लाञ्छना र विभेद अन्त्यका लागि निरन्तर जनचेतनामूलक अभियान आवश्यक रहेको धारणा राख्नुभयो। प्रादेशिक जनस्वास्थ्य केन्द्रका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यौलाका अनुसार गण्डकी प्रदेशमा एचआईभी संक्रमणका प्रमुख कारण वैदेशिक रोजगारी (माइग्रेसन), लागुऔषध दुव्र्यसन तथा असुरक्षित यौन सम्पर्क रहेका छन्। कास्कीमा संक्रमितको संख्या बढी हुनुमा जिल्लाको उच्च जनसंख्या र बसाइँसराइको प्रभाव पनि एक कारण हुन सक्ने उहाँले बताउनुभयो। नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव सुमन गुरुङले एचआईभी संक्रमण न्यूनिकरण गर्न महासंघले आवश्यक सहजीकरण र सचेनता जगाउन पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल सरकारको सन् २०३० सम्म एचआईभी संक्रमण अन्त्य गर्ने लक्ष्यअनुसार सञ्चालन भइरहेको ९५–९५–९५ रणनीति, एआरभी उपचारको पहुँच विस्तार, लाञ्छना तथा विभेद न्यूनीकरण र जोखिम समूहमा नियमित सचेतना अभियान सञ्चालनका विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले एचआईभी संक्रमितप्रति सम्मानजनक व्यवहार, गोपनीयताको संरक्षण र उपचारमा सहज पहुँच सुनिश्चित गर्न सबै निकायको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनु भएको थियो ।





