
पोखरा, १२, असार,
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा संस्थागत विकास, भावी कार्ययोजना तथा रणनीतिक विकाससम्बन्धी एकदिने रणनीतिक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को सहकार्य तथा स्पार्कसेनस्टिफ्टुङ जर्मनी बायर, नेपालस्थित प्रतिनिधि सञ्जय झा तथा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले परियोजनाको उद्देश्य, कार्ययोजना र संस्थागत विकासका विभिन्न पक्षबारे सहजीकरण गर्नुभएको थियो।
छलफलमा संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ, कोषाध्यक्ष सूर्यमोहन ढकाल, लेखा समिति संयोजक नारायण सुवेदी, सञ्चालक तथा ऋण उपसमिति सदस्य हिरालाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ, मुख्य प्रबन्धक मीलन ढकालसहित विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा परियोजनाअन्तर्गत संस्थाको वित्तीय स्वास्थ्यलाई थप सुदृढ बनाउन ऋण नीतिमा सुधार, आधुनिक ऋण प्रणालीको विकास, क्रेडिट स्कोरिङ प्रणाली लागू गर्ने, खराब कर्जा व्यवस्थापनलाई प्रभावकारी बनाउने, ऋण मूल्याङ्कन तथा सदुपयोगिताको वैज्ञानिक परीक्षण विधि अपनाउने र ऋण विभागमा कार्यरत कर्मचारी तथा उपसमितिका सदस्यलाई समयानुकूल तालिम प्रदान गरी दक्षता अभिवृद्धि गर्ने योजना प्रस्तुत गरिएको थियो।
संस्थाका सूचना अधिकारी मीलन ढकालका अनुसार यी कार्यक्रमले संस्थाको ऋण व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा बोल्दै प्राविधिक विज्ञ इयान बायरले स्पार्कसेनस्टिफ्टुङले विगत ३० वर्षदेखि विश्वका ५० भन्दा बढी देशमा २०० भन्दा बढी साझेदार संस्थासँग सहकार्य गर्दै आएको जानकारी दिनुभयो। उहाँले नेपालका सहकारी संस्थाको संस्थागत क्षमता अभिवृद्धिमा समेत यस परियोजनाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्थाको क्षमता विकास गर्ने उद्देश्यअनुसार हाल नेपालका ६ वटा सहकारी संस्थामा नमुना परियोजनाका रूपमा कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा यसलाई विस्तार गर्दै १०० भन्दा बढी संस्थामा पुर्याउने लक्ष्य रहेको बताउनुभयो। उहाँले यस परियोजनाबाट सहकारी संस्थाहरूको सुशासन, वित्तीय अनुशासन तथा सेवा प्रवाहको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।






