
दीननाथ बराल,
पोखरा, १० असार,
पोखराको फेवातालमा फरक–फरक घटनामा डुबेर बेपत्ता भएका दुई युवालाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले खोजी गरी अचेत अवस्थामा उद्धार गरेको छ । उद्धार गरिएकामध्ये एक जनाको उपचार भइरहेको छ भने अर्का एक युवकलाई चिकित्सकले मृत घोषणा गरेका छन्।
मंगलबार साँझ पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा पोखरा–९ नयाँबजार निवासी ३४ वर्षीय शंकर नेपाली तालमा डुबेर बेपत्ता हुनु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्की अन्तर्गत फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन टोली तत्काल उद्धार कार्यमा जुटेको थियो ।
टोलीले साँझ ६ः०५ बजे तालको करिब २० फिट गहिराइबाट नेपालीलाई अचेत अवस्थामा फेला पारेर बाहिर निकालेको थियो । उहाँलार्ई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि सोमबार पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा पोखरा–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा डुबेर बेपत्ता भएका हुनु भएको थियो । घटनापछि नम्बर २४ गण कालिका कास्कीबाट गोताखोर सहितको विपद् व्यवस्थापन टोली उद्धारका लागि परिचालन गरिएको थियो ।
टोलीले राति ९ः१० बजे तालको करिब २५ फिट गहिराइबाट थापालाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको शसस्त्र प्रहरीले जनाएको छ । उहाँको तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि राति ९ः४४ बजे चिकित्सकले मृत घोषणा गरेको श्रोतले जनाएको छ । फेवातालमा पछिल्ला दिनहरूमा डुब्ने घटनामा वृद्धि हुन थालेपछि जलक्षेत्रमा आवश्यक सावधानी अपनाउन सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले भने फेवाताललगायत जलक्षेत्रमा सम्भावित दुर्घटनाको तत्काल प्रतिकार्यका लागि निरन्तर निगरानी र उद्धार तयारीलाई तीव्र बनाएको जनाएको छ ।





