
पोखरा,
पोखराको लेकसाइड क्षेत्रमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज(शुक्रबार) नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
उनका अनुसार अझै व्यवसायीहरुले कबिर ६५ प्रतिशत जसो पानी बोरिङ र अन्य नीजि क्षेत्रसंग खरिद गर्न बाध्य हुनु परेको छ । आफुहरुले मुस्किलले करिब ३५ प्रतिशत जसो मात्र संस्थानको पानी उपलब्ध हुने गरेको अध्यक्ष सुवेदीले बताए । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले झण्डै पाँच अर्ब रुपैयाँ खर्च गरेर खानेपानी आयोजना सम्पन्न गरे पनि पानी अभाव हुनु साह्रै लाजमर्दो विषय भएको होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले बताए । पोखरामा २० वर्ष खानेपानीको अभाव हुन्न भनेर जाइकाले आयोजना बनाइदिए पनि धारामा पानी नआएपछि व्यवसायी र पोखरेली आक्रान्त बन्नु परेको परराजुलीले दुःखेसो पोखे ।
‘दिनदिनै ट्यांकरमा पानी किनेर व्यवसाय चलाउनुपरेको छ,’ होटल संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका पराजुलीले भने, ‘पर्यटकीय राजधानी भनेपछि कम्तिमा खानेपानी त दिनुस् ।’ खानेपानी अभाव हुनुको कारणबारे बुझ्न आफूहरु संस्थान पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ठूलो आयोजना सम्पन्न भएपनि खानेपानीको मुहान मर्दीखोलाबाट पोखरासम्म आउने मुख्य पाइप नै सानो हुँदा समस्या भएको संस्थानका इञ्जिनियर लक्ष्मण पाण्डेले बताएको सल्लाहकार परिषद् संयोजक पराजुलीले जानकारी दिए । ‘जाइका मार्फत् ठूलो रकम खर्च गरेर पनि पानी दिन नसकिएको स्वयं संस्थानका इञ्जिनियले बताए’, पराजुलीले भने, ‘ठूलो पाइप राख्ने माग तपाइँहरुले नै सरकारसँग गरिदिनुपर्यो भनेर इञ्जिनियले उल्टो हामीसँग आग्रह गरे ।’ समस्या समाधानका लागि पोखरा महानगरपालिका र प्रदेश सरकारले गंभीर भएर ध्यान दिनुपर्ने पराजुलीको सुझाव छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले ठूलो पाइप राख्नका लागि बजेट छुट्याउनुपर्ने माग पराजुलीको छ । मेयर र मुख्यमन्त्रीले यसमा इनिसियसन लिनुपर्छ, उनले भने । पानी अभावका कारण धाराहरुमा लामो लाइन देखिने गरेको उनले बताए ।
पोखरेलीलाई प्रशोधित पानी पु¥याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जाइकाले नेपाल सरकारलाई २०८१ मंसिरमा हस्तान्तरण गरिसकेको छ । यो आयोजना बनाउन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ लगानी भएको छ । आयोजना अन्तर्गत दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक ८ करोड लिटर भन्दा बढी पानीको माग छ । पोखराको मुख्य पानीको श्रोत १२ किलोमिटर उत्तरको मर्दिखोला हो । पुरुञ्चौरमा शुद्धीकरण गरिएको पानी वितरणका लागि २० इन्चका चारवटा पाइपबाट पोखरामा ल्याइएको छ । यसका लागि २० लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिएको भए पनि हाल पोखरा– ५ पस्र्याङ र पोखरा– ११ फूलबारीबाट पानी वितरण हुँदै आएको छ । पोखरा– १५ कोलपाटनको ट्यांकी भने प्राविधिक कारणले संचालनमा आउन सकेन ।





