
कास्की,४ असारः पोखराको पृथ्वीचोकस्थित प्रश्तावित बसपार्क क्षेत्रमा निर्माण गरिएको संरचना बिहीबार महानगरपालिकाले डोजर लगाएर भत्काउँदै। बसपार्कका लागि विसं २०३२ मा २०५ रोपनी जग्गा अधिग्रहण
दीननाथ बराल,
पोखरा, ४ असार,
पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पोखरा बसपार्क क्षेत्रमा अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज (बिहीबार) देखि डोजर चलाउन सुरु भएको छ । विगत करिब ५ दशक देखि अड्किएको बसपार्क विस्तार तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिन महानगरले अस्थायी रुपमा निर्माण भएका घर तथा टहरा हटाउने कार्य सुरु गरेको हो ।
सार्वजनिक जग्गा अतिक्रमण तथा अव्यवस्थित संरचनाका कारण बसपार्क निर्माण अघि बढ्न नसकेको अवस्थामा अब क्रमशः केही क्षेत्र खाली गर्दै व्यवस्थित विकास गर्ने योजना अघि सारिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । डोजर चलाइएपछि बसपार्क क्षेत्रको उत्तरतर्फ तथा पूर्व पट्रिको केही भाग खाली गरिएको छ । विहिबार ३ वटा डोजर संचालन गरी बसपार्क क्षेत्रका केही भागमा डोजर लगाइएको हो । मेयर आचार्यले सार्वजनिक जग्गा संरक्षण र व्यवस्थित शहरी पूर्वाधार निर्माण महानगरको प्राथमिकता रहेको बताउनुभएको छ । उहाँका अनुसार बसपार्क क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्यसहित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र व्यवस्थापन प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ । मेयर आचार्यले भन्नुभयो, “सार्वजनिक जग्गा संरक्षण अभियानलाई महानगरले प्राथमिकतामा राखेको छ। सुकुम्बासी बस्तीको पहिचान, जग्गा खोजी तथा व्यवस्थापनको काम अहिले तीव्र रूपमा अघि बढिरहेको छ। सबै पक्षसँग समन्वय गरेर व्यवस्थित बसपार्क निर्माण गरिनेछ।”
पोखरा बसपार्क क्षेत्रमा ५७२ जनाले आफूहरू सुकुम्बासी तथा अव्यवस्थित बसोबासी भएको भन्दै पोखरा महानगरपालिका वडा नम्बर ९ मा निवेदन दिएका छन् । वडा अध्यक्ष दीपेन्द्र मर्सानीका अनुसार निवेदन दिएका परिवारहरूको पहिचान, वर्गीकरण र वास्तविक अवस्थाको अध्ययन कार्य जारी रहेको छ । उहाँले भन्नुभयो, “निवेदन दिएका सबैको विवरण संकलन भइरहेको छ । वास्तविक सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी छुट्याउने काम प्राविधिक र प्रशासनिक रूपमा अघि बढिरहेको छ ।” यसअघि गठित विभिन्न समितिहरूले लालपुर्जा भएका जग्गाधनी, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको यकिन विवरण संकलन र सिफारिस कार्य गरिरहेका छन्। प्राविधिक जटिलता तथा थप अध्ययन आवश्यक भएकाले समितिहरूको म्याद थप गरी कामलाई निरन्तरता दिइएको छ । प्राविधिक अध्ययन, कित्ता मिलान, क्षेत्रफल निर्धारण तथा पुनर्वासका सम्भावनाबारे समेत विस्तृत प्रतिवेदन तयार गर्ने काम भइरहेको महानगरले जनाएको छ ।
पोखरा महानगरले बसपार्कलाई आधुनिक, व्यवस्थित र सेवा–सुविधायुक्त यातायात केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको सामाजिक न्यायसहित पुनस्र्थापना सुनिश्चित गर्दै विकास कार्य अघि बढाइने महानगरको भनाइ छ। महानगरले सबै पक्षसँग सहकार्य गर्दै कुनै पनि अवरोधबिना बसपार्क निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । पोखरा बस पार्कमा १ सय ८७ रोनपी क्षेत्रफलमै बस पार्क बनाउन स्थानियले माग गर्नु भएको छ ।






