पोखरा–गोरखा–बन्दीपुरलाई जोडेर ग्रामीण पर्यटनको नयाँ सर्किट विकास गर्नुपर्नेमा जोड

-


     पोखरा क्लिक     
     जेठ २८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, जेठ,

गण्डकी प्रदेशको राजधानी पोखरा, गोरखा र बन्दीपुर लाई एकीकृत पर्यटकीय सर्किटका रूपमा विकास गर्दै ग्रामीण पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले जोड दिएका छन् । आज (बिहीबार) पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यी तीन गन्तव्यलाई जोडेर गण्डकी प्रदेशको पर्यटनलाई थप सशक्त बनाउन सकिने धारणा व्यक्त गर्नु भएको हो ।

‘नेपाल घुम्न गोरखा जाऔँ’ नारासहित होटल व्यवसायी संघ गोरखा को नेतृत्वमा गोरखाका पर्यटन व्यवसायीहरू पर्यटन प्रवद्र्धन अभियान लिएर पोखरा आउनुभएको छ । पृथ्वी होटल व्यवसायी समितिको सहकार्यमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पर्यटन क्षेत्रका व्यवसायी, संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा, चितवन र लुम्बिनी लाई जोडेर ‘सिल्भर ट्रायङ्गल’ अवधारणाको विकास भइसकेको बताउँदै यसमा बन्दीपुर र गोरखालाई समेत समेट्ने गरी नेपाल पर्यटन बोर्ड ले योजना अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशका सबै जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै गोरखाको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा जोड्ने प्रयास भइरहेको बताउनुभयो । गोरखास्थित गोरखनाथ बाबा र भारतको गोरखपुर बीच धार्मिक तथा सांस्कृतिक भाइचाराको सम्बन्ध विस्तार गर्ने सोचमा पर्यटन बोर्ड रहेको उहाँको भनाइ थियो।

होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष भाइचन्द्र श्रेष्ठ ले पर्यटन गण्डकी प्रदेशको साझा सम्पत्ति भएको बताउँदै नेपालको इतिहास, सभ्यता र एकताको आधार बुझ्न गोरखा पुग्नैपर्ने धारणा राख्नुभयो। उहाँले पोखराबाट दुबईमा सिधा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने तयारीले गोरखा क्षेत्रको पर्यटनसमेत उत्साहित बनेको उल्लेख गर्नुभयो । “विदेशी पर्यटक पोखरा आउने क्रम बढेसँगै त्यसको प्रत्यक्ष लाभ गोरखा, बन्दीपुर लगायत आसपासका गन्तव्यले पनि लिन सक्नुपर्छ,” उहाँले भन्नुभयो ।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य ले पर्यटन क्षेत्रका व्यवसायी र सरोकारवालाबीचको सहकार्यबाट मात्रै दिगो पर्यटन विकास सम्भव हुने बताउनुभयो । गोरखाको सम्भावना अनुसार प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै उहाँले पोखरा–गोरखा बीच पर्यटकमैत्री सुविधा सम्पन्न बस सेवा नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य बालकृष्ण न्यौपानेले नेपालको वास्तविक इतिहास बुझ्न गोरखा पुग्नुपर्ने बताउँदै गोरखाको ऐतिहासिक महत्वलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न आवश्यक रहेको धारणा राख्नुभयो । पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष अम्बिका घिमिरे अमृत ले गोरखा आएका पर्यटकलाई पोखरा र पोखरा आएका पर्यटकलाई गोरखा पुग्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि संयुक्त प्रवद्र्धन अभियान र प्याकेज कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो ।

पृथ्वी होटल व्यवसायी समिति पोखराका अध्यक्ष मोति श्रेष्ठ ले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यसैगरी पृथ्बी दर्शन गोर्खाका कार्यवहाक अध्यक्ष कृष्ण लामिछाने ले गोरखा केवल घुम्ने गन्तव्य मात्र नभई बुझेर फर्किनुपर्ने ऐतिहासिक भूमि भएको बताउनुभयो । उहाँले गोरखा, बन्दीपुर र पोखरालाई एउटै पर्यटकीय प्याकेजमा समेटेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्ने माग गर्नुभयो । वक्ताहरूले गण्डकी प्रदेशभित्र रहेका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई एकीकृत रूपमा प्रवद्र्धन गर्न सके पर्यटन बसाइ अवधि बढ्ने, स्थानीय अर्थतन्त्र चलायमान हुने र ग्रामीण पर्यटनले नयाँ गति लिने विश्वास व्यक्त गरेका थिए । विशेषगरी पोखरा–गोरखा–बन्दीपुर सर्किटलाई ग्रामीण पर्यटनको नमूना मार्गका रूपमा विकास गर्न आवश्यक रहेको उहाँहरुको जोड थियो ।च