
दीननाथ बराल,
पोखरा, २७ जेठ,
पोखरा तथा गण्डकी प्रदेशको पर्यटनलाई भारतीय बजारमा थप प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित भारतको कोलकाता (कोलकाता) सम्म “पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बी टु बी सेल्स मिसन” सञ्चालन हुने भएको छ । कार्यक्रमका लागि २२ सदस्यीय टोली भोलि (बिहीबार) पोखराबाट भारत प्रस्थान गर्ने भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
यही जेठ २८ देखि असार १ गतेसम्म भारतको पश्चिम बंगाल राज्यअन्तर्गत कलकतामा अभियान सञ्चालन गर्न लागिएको नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले बताउनु भयो । टोली पोखराबाट वीरगञ्ज हुँदै पटना पुगेर त्यहाँबाट रेलमार्फत कोलकाता जाने कार्यक्रम रहेको छ ।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालको नेतृत्वमा हुने अभियानको संयोजन प्रथम उपाध्यक्ष सङ्गीता पौडेल तथा सह–संयोजन द्वितीय उपाध्यक्ष राजेश पहारीले गर्नु हुने भएको हो । कलकत्तामा एक सयभन्दा बढी ट्राभल एजेन्ट, टुर अपरेटर, पर्यटन व्यवसायी, पत्रकार, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिसँग प्रत्यक्ष व्यावसायिक भेटघाट बी टु बी हुने भएको अध्यक्ष दाहालले जनाउनु भयो ।
अभियानमा पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन सम्भावना, धार्मिक तथा साहसिक पर्यटन, प्राकृतिक सम्पदा, होटल तथा पर्यटन सेवासम्बन्धी वृत्तचित्र प्रदर्शन, प्रस्तुतीकरण तथा प्रचार सामग्री वितरण गरिने जनाइएको छ । साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका विषयमा भारतीय पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरिनेछ ।
अध्यक्ष दाहालले भारतीय बजार नेपालका लागि सबैभन्दा महत्वपूर्ण स्रोत बजारमध्ये एक भएकाले पर्यटन आगमन बढाउन प्रत्यक्ष बजार प्रवद्र्धन आवश्यक रहेको जनाउनु भयो । विगतमा पटना, वाराणसी, अयोध्या, गोरखपुर र सिलिगुडीमा सञ्चालन गरिएका यस्तै अभियानपछि भारतीय पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको उहाँको दाबी छ । कार्यक्रम संयोजक सङ्गीता पौडेलले कोलकातालाई पूर्वी भारतको महत्वपूर्ण पर्यटन तथा व्यावसायिक केन्द्रका रूपमा लिइएको बताउँदै यस अभियानले पोखरा र नेपालको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस वर्ष चीन केन्द्रित पर्यटन प्रवद्र्धन कार्यक्रमहरूमा समेत बजेट खर्च भएकाले आर्थिक स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहे पनि पर्यटन बोर्डले प्रचार–प्रसार तथा प्रवद्र्धनात्मक सामग्रीमा सहयोग गरेको बताउनु भयो । आफुहरुले भारत केन्द्रित केही कार्यक्रम गर्ने खोजेको उहाँले जनाउनु भयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हालैका विभिन्न परिस्थितिका बाबजुद अपेक्षाभन्दा बढी भारतीय पर्यटक नेपाल आएको उल्लेख गर्दै भारतीय बजारमा निरन्तर प्रचार आवश्यक रहेको बताउनु भयो । पोखराबाट दुबईमा सुरु भएको सिधा उडानले अन्तर्राष्ट्रिय बजारमा उत्साह थपेको भन्दै दुबईसहित अन्य गन्तव्यमा पनि प्रवद्र्धन बजेट व्यवस्थापन गर्नुपर्ने धारणा राख्नु भयो ।
नाट्टाका पूर्व अध्यक्ष बासुदेव त्रिपाठीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षले पहल गर्नुपर्ने बताउनु भयो । उहाँले विशेष गरी भारतका विभिन्न शहरसँग सिधा हवाई सम्पर्क विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
सरकारी निकायबाट अपेक्षित स्तरको सहयोग नपाएको गुनासो गर्दै पर्यटन क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले प्रवद्र्धनात्मक गतिविधिमा राज्यको थप सहयोग आवश्यक रहेको महासचिव चेत बहादुर कार्कीले बताउनु भयो । नाट्टा गण्डकीका अनुसार अभियानबाट भारतीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष व्यापारिक सम्बन्ध विस्तार हुनुका साथै पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन बजार विस्तारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । टोली असार १ गते पोखरा फर्किने कार्यक्रम रहेको छ ।





