
सागर सुनार,
पोखरा, जेठ २६,
कास्कीबाट सरुवा भई धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जान लाग्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सोमबार पोखरामा विभिन्न संघसंस्था तथा नागरिक समाजले सम्मानसहित विदाई गरेका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीको सभाहलमा आयोजित “विदाई तथा फेरि भेटौँला” कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्की, नागरिक समाज कास्की, पोखरा महानगरपालिका, पत्रकार महासंघ गण्डकी, पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य ,नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले शर्माले कास्कीमा कार्यरत रहँदा शान्ति सुरक्षा, सुशासन, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जिल्लामा सकारात्मक छवि निर्माण गरेको उल्लेख गरेका थिए। सहभागीहरूले उहाँको समन्वयकारी नेतृत्व, कार्यकुशलता र नागरिकमैत्री प्रशासनको प्रशंसा गर्दै धनकुटामा समेत सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभकामना सन्देश दिँदै कास्कीमा रहँदा जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाबीच उत्कृष्ट सहकार्य कायम भएको उल्लेख गरे। उनले उक्त सहकार्यले नागरिकका अपेक्षा सम्बोधन गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउँदै आगामी जिम्मेवारीमा समेत सफलताको शुभकामना व्यक्त गरे। यसैबीच, नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान कास्कीले प्रमुख जिल्ला अधिकारी शर्मालाई कदरपत्रसहित सम्मान गरेका छन्। वातावरण तथा सम्पदा संरक्षण, सुशासन प्रवर्द्धन र सार्वजनिक सरोकारका विषयमा उल्लेखनीय योगदान पुर्याएको भन्दै महाअभियानका संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनले संयुक्त रूपमा सम्मान गरेका हुन्।
कार्यक्रममा सहभागी सामाजिक अभियन्ता, जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शर्माको आगामी यात्रा सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै “फेरि भेटौँला” भन्दै विदाई गरेका थिए।





