बेगनास तालमा डुबेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार, अचेत अवस्थामा अस्पताल भर्ना

-


     पोखरा क्लिक     
     जेठ २५ गते २०८३ मा प्रकाशित


पोखरा, जेठ २५,

पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकलाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको छ। सिन्धुली घर भई हाल पोखरा–१८ सराङकोटस्थित मामाघरमा बस्दै आएका करिब २३ वर्षीय कान्छा मगर (नामले चिनिने) आइतबार दिउँसो बेगनास तालको रेस्क्यु टावर नजिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको नेतृत्वमा गोताखोर सहित ११ सदस्यीय उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। टोलीले तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्दै साँझ ५ः१५ बजे तालको करिब २० फिट गहिराइबाट मगरलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो । उद्धार कार्यमा गोताखोर रमेश हिटन र देवराज खनालको सक्रिय सहभागिता रहेको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धारपछि मगरलाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकाबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले थप उपचारका लागि साँझ ५ः५५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्‍याएको थियो। घटनापछि बेगनासताल क्षेत्रमा स्थानीयवासी र सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो। युवकको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।