ओझेलमा परेका पर्यटकीय गन्तव्यको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचारमा जोड, तीनदिने अध्ययन भ्रमण सकेर पत्रकार टोली पोखरा फर्कियो (भिडियो सहित)

-


     पोखरा क्लिक     
     जेठ २५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा,

गण्डकी प्रदेशका ओझेलमा परेका तथा अपेक्षाकृत कम प्रचारप्रसार भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोगमा सञ्चालित तीनदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। भ्रमणमा सहभागी पत्रकारहरूको टोली पोखराबाट शुक्रबार प्रस्थान गरी तनहुँ, नवलपुर, स्याङ्जाका विभिन्न पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन, अध्ययन र रिपोर्टिङ गर्दै आइतबार बेलुका पोखरा फर्किएको हो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा, अन्नपूर्ण क्षेत्रलगायत विश्वप्रसिद्ध गन्तव्य चर्चामा रहे पनि ग्रामीण तथा नयाँ पर्यटकीय गन्तव्य पर्याप्त प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको बताउनुभयो। प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यस्ता क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले अध्ययन भ्रमण आयोजना गरिएको उहाँको भनाइ छ।

भ्रमणका क्रममा टोलीले तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा, नवलपुरको देवचुलीस्थित पिप्रहर सामुदायिक होमस्टे, त्रिवेणी मोक्षधाम, स्याङ्जाको मिर्मी, कालीगण्डकी नदी क्षेत्र, सेतीवेणी, अर्जुनचौपारीस्थित नवग्रह मन्दिर तथा अन्य धार्मिक एवं प्राकृतिक गन्तव्यहरूको अवलोकन गरेको वोर्डले पोखराक्लिकलाई जनाएको छ ।

अध्ययन भ्रमणका क्रममा स्थानीयवासी तथा सरोकारवालाहरूले पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्याप्त प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको अभावले धेरै गन्तव्य अझै पर्यटकको पहुँचभन्दा बाहिर रहेको गुनासो गरेका थिए। उनीहरूले सरकारले पूर्वाधार विकासमा विशेष प्राथमिकता दिनुका साथै नेपाल पर्यटन बोर्डले लक्षित प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत पर्ने ऐना पहारामा बालबालिकादेखि युवासम्मलाई लक्षित साहसिक खेलका विविध गतिविधि सञ्चालनमा रहे पनि अपेक्षित प्रचार नपाउँदा यसको पर्यटन सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको स्थानीयको भनाइ थियो।

नवलपुरको देवचुलीस्थित पिप्रहर सामुदायिक होमस्टेका सञ्चालकहरूले पनि उचित प्रचारप्रसार अभावका कारण व्यवसायलाई पूर्ण व्यावसायिक रूपमा विस्तार गर्न कठिनाइ भइरहेको बताएका छन्।

त्यसैगरी त्रिवेणी मोक्षधामका अध्यक्ष एवं उत्तराधिकारी स्वामी श्रीकृष्णप्रपन्नाचार्यले भारतको सीमासँग जोडिएको धार्मिक महत्वको धाममा आवश्यक पूर्वाधार र प्रचारप्रसारको कमीका कारण अपेक्षित सङ्ख्यामा धार्मिक पर्यटक आकर्षित गर्न नसकिएको बताउनुभयो। भ्रमणका क्रममा पत्रकार टोलीले स्याङ्जाको मिर्मी क्षेत्रमा कालीगण्डकी नदीमा जलयात्रा मोटरबोटको अनुभवसमेत लिएको थियो। स्थानीय हिमलाल पाण्डेका अनुसार मोटरबोट सेवा सञ्चालनपछि नदी क्षेत्र आसपासका समुदायले प्रत्यक्ष आर्थिक लाभ लिन थालेका छन्।

टोलीले अर्जुनचौपारीस्थित नवग्रह मन्दिरको समेत अवलोकन गरेको थियो। करिब डेढ वर्षअघि सञ्चालनमा आएको उक्त मन्दिरमा विशेषगरी शनिबार दर्शनार्थीको उल्लेख्य भीड लाग्ने गरेको मन्दिरका पुजारी तिलकप्रसाद देवकोटाले पोखरालिक्कलाई जानकारी दिनुभयो। उहाँका अनुसार भक्तजनहरू मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पुग्ने गरेका छन्। यसैक्रममा टोलीले ‘२० हजार ताल’ क्षेत्रको समेत अवलोकन गरेको थियो। ताल क्षेत्रमा दुर्लभ वन्यजन्तु पाटे बाघसमेत देखिएको टोलीले जनाएको छ। यद्यपि तालको ठूलो भाग जलकुम्भी झारले ढाकिएकाले संरक्षण र व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

भ्रमणमा सहभागी पत्रकार सन्देस श्रेष्ठले तनहुँदेखि स्याङजाको कालीगण्डकी नदी आसपासका क्षेत्र, नवलपुरका ग्रामीण पर्यटनका विविध आयामलाई सञ्चारमाध्यममार्फत व्यापक रूपमा उजागर हुने बताए । भ्रमण टोलीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२ जना पत्रकारका साथै पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम संयोजक युवराज गुरुङ लगायतको सहभागिता रहेको थियो।

पर्यटन क्षेत्रका जानकारहरूका अनुसार गण्डकी प्रदेशका कम परिचित गन्तव्यको प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र समुदायको सक्रिय सहभागितामार्फत ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास गरिएको छ। पहिलो फोटो एआईजेनेरेट ।