घरेलु टिम कास्कीको विजयी सुरुवात, चन्द्रमाया बरालको अलराउण्ड प्रदर्शन

-


     पोखरा क्लिक     
     कार्तिक २८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, कार्तिक,

गण्डकी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० छनोट क्रिकेट प्रतियोगिता २०८३ को उद्घाटन खेलमा घरेलु टिम कास्की जिल्ला महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज(शनिबार) सम्पन्न उद्घाटन खेलमा घरेलु टीम कास्कीले नवलपुरलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

टस जितेर नवलपुरकी कप्तान श्रेया शर्माले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको कास्कीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पारेको थियो । कास्कीका लागि चन्द्रमाया बरालले उत्कृष्ट ब्याटिङ गर्दै ५२ बलमा ४ चौकाको मद्दतले अविजित ५५ रनको अर्धशतकीय पारी खेल्नु भयो । त्यस्तै सम्झना बिकले १८ रन र रिया तामाङले अविजित १४ रनको योगदान दिनुभयो । नवलपुरका तर्फबाट श्रेया शर्मा र अनुषा तिमिल्सिनाले समान एक–एक विकेट लिनु भयो ।

११७ रनको लक्ष्य पछ्याएको नवलपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रनमै सिमित भयो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले ५२ बलमा २८ रन बनाउँदा आयुष्मा चापागाईंले २३ बलमा एक चौका र एक छक्कासहित अविजित २३ रनको योगदान दिनुभयो । निकिता कुँवरले १४ रन बनाउनु भयो । कास्कीको जितमा चन्द्रमाया बरालले बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर महत्वपूर्ण २ विकेट लिन सफल हुनुभयो । त्यस्तै वर्षा पौडेलले एक विकेट हात लिनुभयो ।

ब्याटिङमा अर्धशतक र बलिङमा दुई विकेटसहित अलराउण्ड प्रदर्शन गरेकी चन्द्रमाया बराल खेलको प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले ट्रफी प्रदान गर्नुभयो । यसअघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का जिमित्त सदस्यसचिव दीपेन्द्र परियारले गर्नुभएको थियो । अध्यक्ष सिग्देलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको कोषाध्यक्ष दिवाकर थापाले बताउनु भयो ।

प्रतियोगिताबाट छनोट भएका खेलाडीले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । साथै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा पोखरामा मङ्सिरको तेस्रो सातादेखि आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोलीसमेत छनौट हुने भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की सहित स्याङजा, पर्वत, नवलपुर, बागलुङ गरी पाँच जिल्ला को सहभागी छ । प्रतियोगिताको मुख्य उद्देश्य उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगिताका लागि प्रतिस्पर्धात्मक टोली निर्माण गर्नु रहेको आयोजक सङ्घले जनाएको छ ।