
पोखरा, जेठ २४,
पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि आइतबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो ।
शनिबार विज्ञान संकायमा भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको प्रतिभाले आइतबार व्यवस्थापन र होटल व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल, विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ओडुभिलले जिन्दगीमा सुखदुख धेरै हुने भएपनि प्रगतिशिल हुन विद्यार्थीलाई सुझाए । उनले विद्यार्थीलाई सकारात्मक सोँच राख्न पनि सुझाव दिए । ‘जिन्दगीमा सुखदुख धेरै नै हुन्छन । त्यसैले प्रगतिशील हुनुपर्छ । सधैं सकारात्मक सोचौं, त्यसो भयो भने सफलता हात पार्छ,’ उनले भने, ‘विद्यार्थी सफल हुनका लागि उनीहरुमा मेहनत जरुरी छ । विद्यार्थीले मेहनतका साथ अध्ययन गर्ने हो भने लक्ष्यमा पुग्न सहज हुन्छ ।’ कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीले देखेको सपना पुरा गर्नका लागि विद्यालय सदैंव तयार रहेको बताए । विद्यार्थीले आफुले आफुमा भएको क्षमता पहिचान गर्न नसक्दा कहिलेकाँही समस्या हुने गरेको प्राचार्य सापकोटाले बताए । ‘आफैले आफैलाई चिन्न नसक्दा कहिलेकाँही गलत दिशातिर जान सकिन्छ । त्यो बेला सचेत हुनुपर्छ,’ उनले भने, ‘आफ्नो क्षमता आफैले पहिचान गर्ने हो । क्षमता बुझेर अघि बढ्नुपर्छ ।’
प्राचार्य आचार्यले आफ्नो जात, धर्म, आर्थिक अवस्था, सामाजिक हिसाबले प्रगतिको सपना देख्नबाट नरोकिन विद्यार्थीलाई सुझाव दिए । ‘जिवनमा धनि र शक्तिशाली भन्दा असल मान्छे बन्नुपर्छ,’ नवआगन्तुक विद्यार्थीलाई सुझाव दिँदै उनले भने, ‘त्यसका लागि मेहनत चाहिन्छ । सबै विद्यार्थीसँग कुनै न कुनै खालको क्षमता हुने भएकोले क्षमता पहिचान गर्न सक्नुपर्छ । हिड्ने मान्छे नै लड्ने हो, त्यसैले हरेक लडाइबाट उठ्न सक्नुपर्छ ।’ व्यवस्थापन विषय आफैमा अब्बल रहेको भन्दै प्राचार्य सापकोटाले विश्वमा अहिले यति धेरै प्रतिश्पर्धा छ की जागिर खाने होईन, अब जागिर दिने व्यक्ति बन्नुपर्ने बताए ।
उनले प्रतिभा माविले विद्यार्थीलाई संस्कार सहितको शिक्षा दिने बताए । ‘प्रतिभा माविले किताबी ज्ञान मात्र दिँदैन, व्यक्ति र ब्यक्तित्व निर्माण गर्न सघाउँछ, त्यसैको प्रमाण हो–विद्यालयले देशभित्र मात्र नभई विदेशमा पनि पहिचान बनाउन सकेको छ,’ उनले भने, ‘बुबाआमाको सपना पूरा गर्ने प्रण गरौं । जीवनमा धनी र शक्तिशालि व्यक्ति बनिएला, तर, असल बन्नुपर्छ ।’ कार्यक्रममा विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत भलिवल खेल क्षेत्रमा विशेष योगदान गरेको भन्दै म्याग्दी जिल्ला भलिवल संघलाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको थियो । प्रतिभा माविमा भलिवल खेलको जग बसालेका र हाल म्याग्दी जिल्ला भलिवल संघका अध्यक्ष समेत रहेका तेजेन्द्र बानियाँ र संघका सदस्य तथा प्रतिभा माविका भलिवल प्रशिक्षक कुमार किसानलाई उक्त अवसरमा सम्मान गरियो ।
प्रतिभा संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए । समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए । ‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ । आगामि दिनमा ती प्रतिभा अझै थपिनेछन,’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौं ।’ कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज र उनको नयाँ ब्याण्डले गीत प्रस्तुत गरेका थिए । त्यसैगरि विद्यार्थीले पनि प्रस्तुती राखेका थिए ।






