
बेनी, म्याग्दी ,
मुस्ताङ जाने मुख्य सडक खण्डमा सवारी साधनको अत्यधिक चापका कारण पटक–पटक लामो जाम हुने गरेको छ। विशेषगरी तातोपानी–बेनी सडकको महभीर लगायतका क्षेत्रमा पर्यटन सिजनमा घण्टौंसम्म सवारी रोकिने अवस्था देखिएको छ।

विजय केसीका अनुसार आन्तरिक तथा बाह्य पर्यटक बोकेका सवारी साधन, दोहोरो लाइनमा चल्ने गाडी तथा भारतीय नम्बर प्लेटका सवारीको बढ्दो आवागमनले सडकमा चाप बढाएको हो। साँघुरो सडक र व्यवस्थापनको अभावका कारण सामान्य अवस्थामा पनि जाम हुने गरेको उनले बताए। सडकमा ट्राफिक व्यवस्थापनका लागि पर्याप्त जनशक्ति नहुँदा समस्या झन् जटिल बन्दै गएको स्थानीयको गुनासो छ। जाम नियन्त्रण तथा सवारी आवागमन सहज बनाउन आवश्यक स्थानमा ट्राफिक प्रहरी र स्थानीय तहको समन्वय प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ छ।
पर्यटनको प्रमुख गन्तव्य मुस्ताङ जाने यही सडकमा बारम्बार जाम लाग्दा यात्रुहरू घण्टौं अलपत्र पर्न बाध्य भएका छन्। यसले पर्यटकको यात्रा अनुभवमा नकारात्मक प्रभाव पार्नुका साथै स्थानीय व्यवसाय र यातायात सेवामा समेत असर परेको छ । स्थानीयवासी तथा सरोकारवालाले पर्यटन सिजनलाई ध्यानमा राख्दै सडक व्यवस्थापन, ट्राफिक निगरानी र सवारी आवागमनको प्रभावकारी नियमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार समयमै उचित व्यवस्थापन हुन सके मुस्ताङ यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन सकिनेछ।





