
दीननाथ बराल,
पोखरा २१, जेठ,
पोखरा महानगरपालिका–२१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन स्थलमा ग्रिनेट फेला परेपछि नेपाली सेनाले अनुसन्धान सुरु गरेको छ । बिहीबार बिहान पोखराका विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको फोहोरमा कवाडी सामग्री खोज्ने क्रममा रिमा शेर्पाले शंकास्पद वस्तु भेटे पछि प्रहरीले नेपाली सेनालाई उक्त बिषयमा जानकारी गराएसंगै हाल नेपाली सेनाले ग्रिनेटको बिषयमा अनुसन्धान गर्दै गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले बम जस्तो शंकास्पद बस्तु ग्रिनेट रहेको पुष्टि भएसंगै थप अनुसन्धानको लागि नेपाली सेनाको डिस्पोजल टोलीले उक्त बस्तुको अध्ययन गर्न थालेको बताउनु भयो । पोखरा–१७ रातोपहिरो, पर्वतीय संग्रहालय आसपासका क्षेत्रबाट सङ्कलन गरिएको फोहोर बोकेको पोखरा महानगरपालिकाको गाडी (ग १ ख ५४३७) मार्फत ल्याइएको फोहोरमा ग्रिनेट फेला परेको बताइन्छ । फोहोरको थुप्रोमा भेटिएको ग्रिनेटलाई शेर्पाले हातमा लिएर हेर्दै गर्दा त्यहीँ कार्यरत एक एक्स्काभेटर चालकले देखेपछि सुरक्षित रूपमा राख्न लगाउनु भएको स्थानियले बताउन भयो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगेको थियो । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले फोहोरबाट दुई वटा ह्याण्ड ग्रिनेट र एउटा स्मोक ग्रिनेट फेला परेको जनाएको छ । बमजस्तो शंकास्पद वस्तु भेटिएसँगै नेपाली सेनाको टोलीले ती ग्रिनेटलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । कार्यालयका सूचना अधिकारी पासवानका अनुसार ग्रिनेटको अवस्था, उत्पत्ति र फोहोरमा कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । घटनापछि प्रहरीले क्षेत्रलाई केही समय नियन्त्रणमा लिएर सुरक्षा सतर्कता अपनाएको थियो । फोहोर व्यवस्थापन स्थलमा विस्फोटक सामग्री फेला परेपछि स्थानीयवासीमा त्रसित भएका छन् । उक्त बिषयको तत्काल अनुसन्धान गर्न स्थानियको जोडदार माग रहेको छ ।





