
पोखरा,
पोखरा १९ लामाचौरमा रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत बर्ष बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।आज पोखरामा एक कार्यक्रमका बिच सहकारीले रजत बर्ष समापनसहित संस्थाको स्मारिका विमोचन एवं विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको संस्थाका सचिव बुद्धि खत्री क्षत्रीले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले सहकारी क्षेत्रमा देखिएका नितिगत समस्यालाई समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले बद्लिदो आर्थिक तथा सामाजिक परिवेशमा सहकारी क्षेत्रले उत्पादन र रोजगारी सिर्जनामा महत्वपूर्ण भुमिका खेलेको स्पष्ट पारे । सिमित सहकारीको समस्याले समग्र सहकारीमा समस्या देखाउन नहुने सहकारीले पनि नियम संगत आफ्नो कार्य गर्नुपर्ने उनले जोड दिए । पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सहकारीले नियमन निकायको निर्देशन पालना गरी आफ्ना सदस्यको आर्थिक विकासमा सहयोगी भुमिका खेल्नुपर्नेमा जोड दिए । त्यस अवसरमा सहकारीका संस्थापक अध्यक्ष पुर्णबहादुर पाण्डेसहित पुर्व अध्यक्ष पुष्पेन्द्र पाण्डे, सुरेन्द्रमानसिंह भण्डारी, पदमसिंह गुरुङ, नारायणप्रसाद पौडेल, सञ्जयकुमार अधिकारी र पुर्व सञ्चालक समिति, लेखा समिति, भवन निर्माण समितिलाई सम्मान गरिएको थियो । भवन निर्माण समितिका संयोजक मिलन केसी, सदस्यहरु नरेन्द्रबहादुर भण्डारी, लोकबहादुर थापा, दिल बहादुर थापा, बुद्धि खत्रीलाई समेत मायाको चिनो सहित सम्मानपत्रले सम्मान गरिएको कार्यालय ब्याबस्थापक असोक बस्नेतले बताए ।

कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्की,जिल्ला सहकारी संघका दीपकप्रसाद आचार्य , राष्ट्रिय सहकारी बैंकका टीकाराम अधिकारी, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष ई.दीनेश भण्डारी, सहकारीका पुर्व अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारी, नारायणप्रसाद पौडेल, हितैषी सहकारीका अध्यक्ष मदनप्रसाद आचार्य लगायतले सहकारीको बारे चर्चा गरेका थिए । त्यस अवसरमा मन्त्री कार्कीले सहकारीले प्रकाशन गरेको स्मारिकाको विमोचन समेत गरे । सहकारीका अध्यक्ष नविन भण्डारीले विगत २५ बर्षदेखि सहकारीले सर्मपण, अनुशासन र पारदर्शितालाई मुल मन्त्र मान्दै यहाँसम्म आईपुगेको बताए । अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सात सिद्धान्तको बाचन सदस्य रमा भण्डारी र संचालन सचिव बुद्धी बहादुर खत्री क्षेत्रीले गरेका थिए । लामाचौरमा मुख्य कार्यालय रहेको सहकारीमा करिब २ हजार ४ सय ९७ शेयर सदस्य आवद्ध छन् । संस्थाले २ करोड १५ लाखको लागतमा आफ्नै भवनबाट सेवा प्रदान गर्दै आईरहेको छ । चुक्तापुंजि ११ करोड ७६ लाख ८० हजार ९ सय, जारी पुंजि १५ करोड र ४७ करोड ऋण लगानी रहेको संस्थाले जनाएको छ ।






