बालोदय बोर्डिङ स्कूलले पाँचौँ वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जित्यो

-


     पोखरा क्लिक     
     जेठ १७ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १७ जेठ,

पोखरा–१७ मा रहेको बालोदय बोर्डिङ स्कूलले पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पोखरामा आज (आइतबार) सम्पन्न फाइनल खेलमा बालोदयले साविक उपविजेता एल.पी.देवकोटा मेमोरियल बोर्डिङ स्कूललाई ३–० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

बालोदयका लागि निसान भुजेलले २ र आयुष थापा मगरले १ गोल गरे। भुजेलले खेलको २६ र ४५ औं मिनेटमा गोल गरे भने मगरले २८ औं मिनेटमा गोलको योगदान दिए। खेलमा बालोदयका रिदम थारुलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो। एल.पी.देवकोटाले केही अवसर सदुपयोग गर्न नसक्दा यस वर्ष पनि उपविजेतामा सिमित हुनुपर्यो । प्रतियोगितामा ढुङ्गेसाँघु बोर्डिङ स्कूलले तेस्रो स्थान हासिल गर्‍यो। तेस्रो स्थानको लागि भएको खेलमा ढुङ्गेसाँघुले स्पाइरल ग्यालेक्सी स्कूललाई २–० ले पराजित गर्‍यो। ढुङ्गेसाँघुको जितमा सुवास बि।क। र साहिन कुमालले समान १–१ गोल गरे। खेलमा साहिन कुमाल ‘म्यान अफ द म्याच’ घोषित भए।

पोखरा–१७ का १९ वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा जानकी मावि अनुसासित टिम घोषित भएको थियो, प्रतियोगिताका म्याच कमिस्नर गोपाल थापाले जानकारी गराए । प्रतियोगितामा व्यक्तिगत पुरस्कारहरूमा बालोदयका निसान भुजेललाई उत्कृष्ट खेलाडी घोषित गरियो। भुजेलले प्रतियोगितामा १० गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि पनि हात पार्न सफल भए। उत्कृष्ट गोलरक्षकको पुरस्कार बालोदयका प्रदिवस ठकुरीलाई, उत्कृष्ट डिफेन्डर एल।पी। देवकोटाका मिलन थारुलाई र उत्कृष्ट मिडफिल्डर बालोदयका विक्लेस बुद्ध थापालाई प्रदान गरिएको थियो। विजयी खेलाडीहरुलाई पोखरा महानगरपालिका–१७ का वडा अध्यक्ष राधिका शाही योगी, वडा सदस्य एवं खेल संयोजक बिक्रम गुरुङ, सहारा क्लबका निवर्तमान अध्यक्ष केशवराज बराल, क्लबका अध्यक्ष रमेश प्रसाद बराल र खेल संयोजक विकास रानाभाटले पुरस्कार वितरण गरे।

ड्यामसाइड क्लबको आयोजनामा जेठ १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा वडा नं। १७ भित्रका १९ सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहेको क्लबका अध्यक्ष रमेश प्रसाद बरालले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए। प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा, पोखरा–१७ को प्रवद्र्धनमा सञ्चालन भएको थियो । क्लबका महासचिव राकेश श्रेष्ठका अनुसार, फुटबल खेलको आधारभूत (ग्रासरुट) स्तरबाटै विकास गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको छ।