गणतन्त्र दिवसमा उत्कृष्ट योगदानको कदरः सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मा, पत्रकारमा माधव शर्मा सहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

-


     पोखरा क्लिक     
     जेठ १६ गते २०८३ मा प्रकाशित


पोखरा,

गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले नागरिक सुरक्षा, सञ्चार, शिक्षा, कृषि, पर्यटन, उद्यमशीलता तथा समाजसेवा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ। पोखरामा शुक्रबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी बल नम्बर २४ गण हेडक्वाटर कालिका गणका तत्कालीन प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मालाई नगद २५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान प्रदान गरिएको हो।

शर्मासँगै प्रहरी वरिष्ठ हवल्दार लोकेन्द्रबहादुर नेगी र सशस्त्र प्रहरी सहायक हवल्दार विनोद खड्का पनि सम्मानित भएका छन्। सुरक्षातर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी नौ जना सुरक्षाकर्मीलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव एवं सूचना अधिकारी हिमा पोख्रेलले बताइन् । गणतन्त्रको उपलब्धिलाई जनस्तरसम्म अनुभूत गराउने र आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो। सुरक्षातर्फ नेपाली सेनाका यम्मरबहादुर बुढा क्षेत्री, मिलन खवास र सुजन राई तथा नेपाल प्रहरीका विष्णुराज पौडेल, श्यामकान्त श्रीवास्तव र राजेश बोते पनि सम्मानित भए। प्रदेश प्रमुख डिल्लीराज भट्ट र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गरेका थिए।

सञ्चार क्षेत्रबाट पत्रकार माधव शर्मा, केशवराज पराजुली र सरस्वती शर्मा जिज्ञासुलाई सम्मान गरिएको छ। पत्रकारितामार्फत समाजमा सकारात्मक योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो।शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका कास्कीको माछापुच्छ्रे माध्यमिक विद्यालय भुजुङखोलाका सन्तोष आचार्य, विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका कृष्णप्रसाद आचार्य तथा बागलुङको रुद्रेपिपल माध्यमिक विद्यालयकी सीता नेपाली सम्मानित भए।

कृषि क्षेत्रबाट पशुपालनतर्फ तनहुँ शुक्लागण्डकी–१० का शिवलाल रसाइली, तरकारी बीउ उत्पादनतर्फ पर्वत फलेवास–११ की माया पाठक तथा मौरीपालनतर्फ नवलपरासी पूर्व कावासोती–९ का चण्डिकाप्रसाद लामिछानेलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। त्यसैगरी पर्यटन तथा उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्‍याएका नवलपरासी पूर्वको बृहत् सामुदायिक होमस्टे, स्याङ्जाको सिरुवारी सामुदायिक होमस्टे र मनाङको ताचै घरवास व्यवस्थापन समिति सम्मानित भए। निजी क्षेत्रतर्फ पोखराको होटल एलिजेन्ट, पर्वतको कम्युनिटिज फुड्स प्रोसेसिङ इन्डस्ट्री र तनहुँको ग्रिन हिमालय फार्मस्टेलाई पनि नगदसहित सम्मानपत्र प्रदान गरिएको छ।

समाजसेवातर्फ गोरखा चुमनुब्री–७ का पेमा छेवाङ लामा, कास्की पोखरा–११ की डा. चन्द्रा भद्रा तथा आनन्दराज मुल्मी सम्मानित भएका छन्।
गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै समाज विकास र जनसेवामा सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई गणतन्त्र दिवसको अवसरमा सम्मान गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरेको जनाएको छ।