अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई

-


     पोखरा क्लिक     
     जेठ १५ गते २०८३ मा प्रकाशित


पोखरा,

‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

पुरस्कारको राशि रु. २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । आगामी जेठ २० गते घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा प्रदान गरिन्छ ।

प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ रहेका थिए । सदस्यहरूमा पत्रकार तथा आयोजक समितिका कानुनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक पत्रकार टंकराज अधिकारी तथा पदेन सदस्यका रूपमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहेका थिए । यसअघि उक्त पुरस्कारबाट पत्रकारहरू बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल, रविचन्द्र पराजुली तथा रोहितराज पराजुली सम्मानित भइसकेका छन् ।

पत्रकार भुपाल गुरुङको जन्म स्याङ्जाको वालिङ नगरपालिका–३ राम्चे (साविक माझकोट शिवालय गाविस–२) मा भएको हो । उनी हाल पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा बसोबास गर्दै आएका छन् । वि.सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिमसमेत प्राप्त गरेका छन् । उनले गोर्खाली रेडियोमा तीन वर्ष, युनाइटेड राष्ट्रिय दैनिकमा पाँच वर्ष सहसम्पादक, सगरमाथा टेलिभिजनमा गण्डकी प्रदेश प्रमुखका रूपमा नौ वर्ष तथा विगत आठ वर्षदेखि कान्तिपुर टेलिभिजनमा कार्यरत रही पत्रकारिता गरिरहेका छन् ।

पत्रकारिता क्षेत्रमा योगदान पु¥याएबापत गुरुङ विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनले क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, टंकदेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार–२०७९ तथा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार–२०७९ लगायतका पुरस्कार प्राप्त गरेका छन् । हाल उनी नेपाल पत्रकार महासंघ कास्कीका जिल्ला सचिव रहेका छन् । साथै आदिवासी जनजाति पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च गण्डकी, नेपाल प्रेस युनियन, चलचित्र पत्रकार संघ लगायत विभिन्न संस्थामा आबद्ध छन्