
पोखरा, १२ जेठ,
खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालयस्तरीय फुटबल खेलको विकास र ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको पहिलो दिन शिशु निकेतन बोर्डिङ स्कुल, शान्तिनिकुञ्ज बोर्डिङ स्कुल, बालोदय बोर्डिङ स्कुल र एलपी देवकोटा मेमोरियल विजयी भएका छन् । खेल संयोजक विकास रानाभाटका अनुसार बुधबार औपचारिक उद्घाटन सहित थप चार खेल सञ्चालन हुनेछन् । शिशु निकेतन बोर्डिङ स्कुलले पार्दी माविलाई २–१ को गोल अन्तरले पराजित गर्यो । शिशु निकेतनका युनिक गुरुङ म्यान अफ द म्याच घोषित हुनु भयो । त्यसै गरी अर्काे खेलमा न्यू मिलेनियम माथि शान्तिनिकुञ्ज बोर्डिङ स्कुलले ०–३ को शान्दार जित हात पार्यो । खेलमा शान्तिनिकुञ्जका टाइसन थापा मगर म्यान अफ द म्याच घोषित हुनु भयो । जित हासिल गरेका टिम क्वाटरफाइनलमा प्रबेश गरेको म्याच कमिस्नर गोपाल थापाले बताउनु भयो ।
त्यसै गरी बालोदय बोर्डिङ स्कुलले गुप्तेश्वरलाई शुन्यका बिरुद्ध एकतर्फी ५ गोल बर्षायो । बालोदयका निशान भुजेल म्यान अफ द म्याच घोषित हुनुभयो । एलपी देवकोटा मेमोरियलले टाईब्रेकरमा जित हासिल गर्यो । निर्धारित समयमा देवकोटा र विद्यानिकेतन बिचको खेलमा २–२ को बराबरीमा पुगेसंगै खेल टाईब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा एलपी देवकोटा ५–४ ले विजयी भएको हो । एलपीका अग्रिम रेग्मी म्यान अफ द म्याच घोषित हुनु भयो । ड्यामसाइड क्लबका अध्यक्ष रमेश प्रसाद बरालले विद्यालयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्दै पोखराको फुटबल संस्कृतिलाई थप मजबुत बनाउन प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो । प्रतियोगितामा वडा नम्बर १७ भित्रका १९ सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहेको छ । छ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताभर प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ ट्रफी प्रदान गरिनेछ । साथै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक तथा उत्कृष्ट प्रशिक्षकलाई विशेष पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक रानाभाटले जानकारी दिनुभयो । गत वर्ष सम्पन्न चौथो संस्करणको उपाधि हिमालयन बोर्डिङ स्कुलले जितेको थियो । क्लवका महासचिव राकेश श्रेष्ठका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख ५ हजार २ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।




