कप्तान शाहको संयोजकत्वमा पोखरामा प्रथम फ्रेन्डसीप कप भलिवल प्रतियोगिता हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     जेठ १० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १०, जेठ,

गण्डकी प्रदेशका कप्तान संजु बिक्रम शाहको संयोजकत्वमा खेलकुदको शहर पोखरामा यही जेठ १३ गतेदेखि “प्रथम फ्रेन्डसीप कप भलिवल–२०८३” आयोजना हुने भएको छ । फ्रेन्डसीप युवा एकता, गण्डकी प्रदेशको आयोजनामा तथा पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको विशेष सहयोगमा यही जेठ १७ गतेसम्म पोखरा–३ नदीपुरस्थित पोखरा प्रशिक्षण केन्द्रको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

युवाशक्तिलाई खेलकुदमार्फत एकताबद्ध गर्दै सामाजिक सद्भाव, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना हुने लागेको आयोजकले पोखराक्लिकलाई जनाएका छन् । प्रतियोगितामा ८ टिमको सहभागिता हुने भएको आयोजक संस्थाका अध्यक्ष टुक बहादुर गुरुङले बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीलाई १ लाख तथा तृतीय हुने टोलीलाई रु. ५० हजार प्रदान गर्ने भएको छ । त्यसैगरी सान्त्वना पुरस्कारस्वरूप रु. १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । युवाहरूलाई कुलतबाट बचाउन, हिंसा र सामाजिक विकृतिबाट टाढा राख्ने प्रभावकारी माध्यम खेलकुद भएकाले राष्ट्रिय खेल भलिबलको संरक्षण, प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको कुशल छन्त्यालले बताउनु भयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर तथा उदयमान खेलाडीलाई समेत विशेष विधागत पुरस्कार प्रदान गरिनेछ । प्रत्येक टोलीमा १२ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १४ जना रहने व्यवस्था गरिएको छ । आयोजकका अनुसार प्रतियोगितासँगै विविध सांस्कृतिक, मनोरञ्जनात्मक तथा हास्य प्रस्तुति पनि समावेश गरिनेछ । साथै भलिबल खेलको विकासमा योगदान पु¥याउने व्यक्तित्व, प्रायोजक तथा सहयोगीहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ । प्रतियोगिताका संयोजक भने गण्डकी प्रदेश भलिवल टोलीका टिम कप्तान संजु बिक्रम शाह रहनु भएको छ । प्रतियोगितालाई करिब १५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि करिब १२ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । फ्रेन्डसीप युवा एकताले खेलकुदमार्फत युवाहरूबीच मित्रता, सहकार्य र सकारात्मक सोचको विकास गर्दै समाज रूपान्तरणमा योगदान पु¥याउने विश्वास गरिएको भलिवल प्रशिक्षक मनोज खड्काले बताउनु भयो ।