
दीननाथ बराल,
कास्की, ६ पोखरा,
अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा यही जेठ २० गते कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण हुने भएको छ । आज(बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा म्याराथन संयोजक तथा समितिका अध्यक्ष ललित गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारीको बारेमा जानकारी गराए ।
अध्यक्ष गुरुङका अनुसार यो प्रतियोगिता सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा अन्नपूर्ण प्रथम हिमाल सफल आरोहणको ७६औँ वर्षगाँठको अवसरमा आयोजना हुँदैछ । प्रतियोगिताको मुख्य उद्देश्य अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार विकास र पर्यटन प्रवर्धन गर्नु रहेको उनले जनाए । “सबै मौसमका लागि पर्यटन” नारासहित आयोजना हुने म्याराथन समुद्री सतहदेखि ४,१३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुनेछ । रुट माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, हिन्कु केभ, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला हुँदै घान्द्रुकस्थित मेश्रम वराह माध्यमिक विद्यालयमा समापन हुनेछ। प्रतियोगितामा करिब ७० धावकको सहभागिता अपेक्षित गरिएको छ । अहिलेसम्म नेपाल, भारत, हल्याण्ड, थाइल्याण्ड, फ्रान्स र अर्जेन्टिना गरी ६ देशका ४० धावकले नाम दर्ता गराइसकेका छन्, जसमा १३ जना विदेशी पुरुष धावक र ३ जना विदेशी महिला धावक रहेका छन्। अर्जेन्टिनाका चर्चित धावक पाव्लो उरेटले पनि सहभागिता जनाउने निश्चित भएको आयोजकले जनाएको छ ।
म्याराथनको सम्पूर्ण प्राविधिक व्यवस्थापन हिमालयन एक्स्ट्रीले गर्नेछ। संस्थाका निर्देशक रिकी योञ्जनले उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या र आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य तथा सुरक्षा तयारी गरिसकेको जानकारी दिए ।
पुरुष र महिलाका प्रथम, द्वितीय तथा तृतीय हुने धावकलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपियाँ, साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब ३८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद तथा पर्यटन प्रवर्धन कार्यक्रमको रूपमा विकास गर्ने लक्ष्यसहित नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, राष्ट्रिय प्रकृति संरक्षण कोष र विभिन्न स्थानीय पर्यटन समितिहरूले सहयोग गर्ने प्रतियोगिताका प्रचार संयोजक टंकराज अधिकारीले बताए ।





