
दीननाथ बराल,
पोखरा, ५ जेठ,
पोखरा महानगरपालिका वडा नम्बर १३ मा मंगलबार आयोजित तेस्रो “तरबुजा मेला २०८३” मा करिब १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र किसानलाई प्रत्यक्ष बजार उपलब्ध गराउने उद्देश्यले आयोजित मेलामा उपभोक्ताको उल्लेख्य सहभागिता रहेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो ।
मेलामा करिब २० हजार केजी तरबुजा बिक्री भएको उहाँले जनाउनु भयो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र पोखरा वडा नम्बर १३ को आयोजनामा तथा वडा स्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापनमा सम्पन्न मेलामा प्रतिकिलो ५५ रुपैयाँका दरले तरबुजा बिक्री गरिएको थियो । मेलामा कृषक र उपभोक्ताबीच प्रत्यक्ष किनमेल गराइएको थियो भने सहभागीलाई निःशुल्क रूपमा तरबुजा चखाउने व्यवस्था समेत गरिएको थियो । मेलामा करिब २२ वटा स्टल राखिएका थिए । मेलाको अवसरमा उत्कृष्ट तरबुजा उत्पादक किसानलाई सम्मान समेत गरिएको थियो । ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्दै आएका पोखरा–३३ का किसान रमेश आचार्य लाई नगद १० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी २४ रोपनी क्षेत्रफलमा खेती गरेका ज्ञानबहादुर कार्की दोस्रो, पोखरा–२२ का सुन्दर बराल तेस्रो तथा श्रीधरलाल बराल सान्त्वना स्थान हासिल गर्नुभयो ।
उक्त मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले पोखराको हावापानी तरबुजा खेतीका लागि उपयुक्त बन्दै गएको बताउँदै यहाँ करिब ९० दिनमै उत्पादन तयार हुने बताउनु भयो । महानगरले किसानलाई आवश्यक प्राविधिक तथा व्यावसायिक सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले पोखरामा सरस्वती जातको तरबुजा बढी उत्पादन भएको जनाउनु भयो । पोखराका विभिन्न वडामा करिब ५ सय रोपनी क्षेत्रफलमा व्यावसायिक तरबुजा खेती भइरहेको मेयर आचार्यले दाबी गर्नुभयो । पोखरा–३३ तल्लो भाग, पोखरा–२३ पामे, वडा नम्बर १६, १३, १४ र २६ मा तरबुजा खेती विस्तार हुँदै गएको उहाँले जनाउनु भयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराका फाँट क्षेत्रसँगै अन्य स्थानमा पनि व्यावसायिक तरबुजा खेती विस्तार भइरहेको बताउनु भयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकीकी सचिव डा. प्रेरणा सेडाई ले पोखरामा व्यावसायिक तरबुजा उत्पादन भइरहेको विषय आफूले पहिलो पटक थाहा पाएको बताउँदै मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल ले कृषकको मेहनत, उत्पादन र बजार प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताउनु भयो । मेलाले किसानबीच अनुभव आदान–प्रदान तथा कृषि उत्पादनबारे जानकारी साटासाट गर्ने अवसर प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो । मेलाको अवसरमा महिला तथा पुरुष दौड प्रतियोगिता र तरबुजा खाने प्रतियोगिता समेत आयोजना गरिएको थियो । तरबुजा खाने प्रतियोगितामा पोखरा–२३ का गुरुदत्त पराजुली प्रथम, पोखरा–२९ का कुमार थापा मगर द्वितीय तथा पोखरा–३० का सत्यराज भट्टराई तृतीय हुनुभयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष गोकर्ण कार्की, पोखरा भ्रमण वर्ष व्यवस्थापन समितिका संयोजक गोपीबहादुर भट्टराई, कृषि सञ्जाल पोखरा–१३ का संयोजक नरेन्द्र अधिकारी लगायतले कृषि उत्पादन प्रवद्र्धन र बजार व्यवस्थापनका विषयमा चर्चा गर्नुभयो । त्यसैगरी “कृषि सवाल” कार्यक्रमको १०औँ अंक अन्तर्गत “तरबुजा बहस” पनि आयोजना गरिएको थियो । बहसमा वडा नम्बर १३ का अध्यक्ष किरण बराल, कृषि विकास कार्यालय कास्कीका प्रमुख सुदिप खतिवडा, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका वैज्ञानिक सन्तोष लोहनी, आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया तथा कृषि उद्यमी रोशन बराल सहभागी हुनु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार घनश्याम पाण्डेले गरेको वडा सदस्य सुजित तामाङले जनाउनु भयो ।



