पोखरा स्पोट्र्स अवार्डमा टेनिसका खड्का, महिला तर्फ एथ्लेटिक्सकी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित पिपुल्स च्वाइस अवार्ड भने दर्लामीलाई

-


     पोखरा क्लिक     
     वैशाख ३१ गते २०८३ मा प्रकाशित


पोखरा, वैशाख ३१,

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरा इभेण्ट सेन्टरमा साँझ सम्पन्न दशौं संस्करणको रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ मा टेनिसका प्रदीप खड्का र एथ्लेटिक्सकी नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ । पुरुषतर्फ प्रदीप खड्काले जुडोका विज्ञान टी खत्री र भलिबलका सञ्जु विक्रम शाहलाई पछि पार्दै वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभयो ।

महिलातर्फ एथ्लेटिक्सकी ८ सय मिटर धाविका नारायणी भण्डारीले आर्चरीकी मोनिका राना र जुडोकी मनिषा तामाङलाई उछिन्दै उत्कृष्ट खेलाडीको उपाधि हात पार्नुभयो । राष्ट्रिय कीर्तिमानधारी धाविका समेत रहनु भएको नारायणी स्वर्ण पदक विजेता खेलाडी हुनुहुन्छ । पिपुल्स च्वाइस अवार्ड भने राजन दर्लामीले जित्नुभयो । फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपिन खत्रीसँग प्रतिस्पर्धा गर्नु भएको थियो । खल्ती एपमार्फत प्राप्त मतका आधारमा विजेता चयन गरिएको आयोजकले जनाएको छ । वर्ष उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी तथा पिपुल्स च्वाइस अवार्ड विजेताले ट्रफीसहित जनही एक÷एक थान स्कुटर प्राप्त गर्नुभयो ।

निभा राई उदीयमान खेलाडी

वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड व्याडमिन्टनकी निभा राईले जित्नुभयो । उहाँले एथ्लेटिक्सकी अनुस्का अधिकारी र तेक्वान्दोका सचिन सुनारलाई पछि पार्नुु भएको हो । त्यस्तै, सर्वोत्कृष्ट वर्ष प्रशिक्षकतर्फ एथ्लेटिक्सका सिद्धान्त अधिकारी सम्मानित हुनुभयो । उनले तेक्वान्दोकी रेखमाया गुरुङ र टेनिसका कुमार अधिकारीलाई पछि पार्नु भएको हो ।

सर्वोत्कृष्ट वर्ष खेल संस्था÷क्लबतर्फ कास्की जिल्ला क्रिकेट संघ पुरस्कृत भयो। मैदान सुधार, प्रतियोगिता आयोजना तथा खेलाडी उत्पादनमा पु¥याएको योगदानका आधारमा संघ सम्मानित भएको हो। उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट खेल संस्था÷क्लब विधाका विजेताले नगद ३५÷३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

दृष्टिविहीन क्रिकेट खेलाडी सुस्मा तामाङलाई स्पेसल अवार्ड

मञ्चले यस वर्ष दृष्टिविहीन क्रिकेट खेलाडी सुस्मा तामाङलाई स्पेसल अवार्ड प्रदान गरेको छ । उहाँलार्ई नगद ३५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको हो । आँखाले बाहिरी संसार देख्न नसके पनि दृढ आत्मबल र अथक मेहनतमार्फत नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल हु्नु भएको तामाङलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ ।
अवार्ड विजेताहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, हिमश्री फुड्स प्रालिका कार्यकारी निर्देशक प्रकाश केसी, पोखरा भ्रमण बर्षका संयोजक गोपी बहादुर भट्टराई, सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, गुरुङ गहना घरका सञ्चालक सिमा गुरुङ, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, गण्डकीका प्रेस रजिष्टार विमल भण्डारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर, पत्रकार पुरस्कार छनौट समितिका संयोजक विनोद लामिछाने, पूर्व सम्मानित विजय नेपाल लगायतले अवार्ड वितरण गर्नु भयो ।