कास्कीका कुन कुन बिद्यालयले ४ जिपिए ल्याए ! , कास्कीमा ८१.७५ प्रतिशत उत्तीर्ण, ६५ विद्यार्थीले ल्याए ४.० जिपिए, एकै बिद्यायका १२ जनाले ल्याए ४.० जिपिए

-


     पोखरा क्लिक     
     वैशाख २९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २९ वैशाख,

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ मा कास्कीबाट ८१.७५ प्रतिशत उत्र्तीण हुनु भएको छ । जिल्लामा कुल सहभागी विद्यार्थी मध्ये ८१.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले पोखरा क्लिकलाई जनाएको छ ।

१८.२५ प्रतिशत बिद्याथी भने नन् ग्रेडेड भएका छन् । कास्कीमा यस बर्ष ९ हजार ७ सय ५ जना र प्राविधिक धार तर्फ १ सय ८४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि हुनु भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले बताउनु भयो । कास्कीमा ६५ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याएर सफल भएको उहाँले जनाउन्ु भयो । यस वर्ष पनि निजी विद्यालयहरूको नतिजा उत्कृष्ट देखिएको छ । पोखरा–७, मासवारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयबाट मात्रै १२ जना विद्यार्थीले ४.० जिपिए ल्याउन सफल भएका छन् । जिल्लाभर उच्चतम जिपिए ल्याउनेमध्ये सबैभन्दा धेरै विद्यार्थी यही विद्यालयका रहेका छन् ।

मदरल्याण्ड माविबाट ४.० जिपिए ल्याउने विद्यार्थीहरूमा आयुषा अधिकारी, आयुषा पोखरेल, आयुष्मा थापा, अंकिता तिमिल्सिना, अनुष्ठान रेग्मी, दिप्सन कँडेल, दीक्षा सुवेदी, नम्रता ढकाल, साइमन अधिकारी, समीप सुवेदी, सार्थक अधिकारी र सूर्यांश केसी रहनु भएको छ । तीमध्ये ७ जना छात्रा र ५ जना छात्र रहेका छन् । विद्यालयले लगातार तेस्रो वर्ष पनि उत्कृष्ट नतिजा कायम राख्न सफल भएको छ । विद्यालयका प्राचार्य डा. नारायण प्रसाद बरालले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई दिँदै यस सफलताले विद्यालयको शैक्षिक गुणस्तर अझ पुष्टि गरेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कास्कीका ६ सरकारी विद्यालयका १० जना विद्यार्थीले समेत ४.० जिपिए हासिल गरेका छन् । बाँकी सबै निजी विद्यालयका विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख आचार्यले जनाउनु भयो । उच्चतम जिपिए ल्याउनेमध्ये ६४ जना विद्यार्थी पोखरा महानगरपालिकाभित्रका रहेका छन् भने एक जना मात्रै माछापुच्छ्रे गाउँपालिकास्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाकी शोभा गौमतले ४.० जिपिए ल्याउन सफल हुनु भएको हो । यस वर्ष गण्डकी बोर्डिङ स्कुल, लामाचौर र प्रतिभा माध्यमिक विद्यालय, पालिखेचोकबाट ५÷५ जना विद्यार्थीले ४.० जिपिए हासिल गरेका छन् । त्यसैगरी छोरेपाटन माध्यमिक विद्यालयबाट ३ जना, शान्ति निकेतन मावि पस्र्याङ र ग्लोबल कलेज रामघाटबाट ३÷३ जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।

शिशु कल्याण बोर्डिङ स्कुल, वाराही मावि मालेपाटन, एसओएस हर्मन माइनर स्कुल, त्रिभुवन शान्ति मावि, जनप्रकाश मावि, शिशु निकेतन मावि, बेथानी बोर्डिङ, ज्योतिकुञ्ज, कुमुदिनी मावि, स्टेप बाइ स्टेप, पोखरा पब्लिक तथा सिर्जना बोर्डिङ स्कुलका विद्यार्थीहरूले पनि ४.० जिपिए ल्याएर विद्यालयको गौरव बढाएका छन् । गत वर्ष कास्कीबाट ६८ जना विद्यार्थीले ४.० जिपिए ल्याएका थिए । प्रारम्भिक नतिजामा ६५ जना देखिए पनि पुनः टोटलिङपछि थप ३ जना विद्यार्थीको जिपिए ४.० पुगेको थियो । यस वर्ष भने प्रारम्भिक नतिजामै ६५ जना विद्यार्थीले उच्चतम जिपिए हासिल गरेका हुन् ।

यसैबिच, प्रतिभा माविबाट ५ जनाले उच्चतम् ४.० जीपीए ल्याउन सफल हुनु भएको छ । ३.६ देखि ४ं.० जिपिएसम्म आउने मात्रै ४७ जना रहेको विद्यालयका प्राचार्य किरण सापकोटाले बताउनु भयो । उच्चतम् ४ जीपीए ल्याउनेमा विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रशन्न ढकाल र स्वकिार पौडेल रहनु भएको छ । पोखरा पालिखेचोक स्थित प्रतिभा माविले यहाँको उत्कृष्ट विद्यालयको परिचय बनाएको विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले दाबी गर्नुभयो । उत्कृष्ट नतिजाको लागि निकै मेहनतका साथ क्रियाशील विद्यार्थी, शिक्षकशिक्षिका तथा अभिभावक प्रति उहाँले हर्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।