
दीननाथ बराल,
पोखरा, १२ वैशाख,
पूर्व राजाः ज्ञानेन्द्र शाह शुक्रबार पोखरा आएसंगै उहाँ दुई साता पोखरामा रहनु हुने भएको छ । शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल बाहिरसम्म विभिन्न संघ–संस्थाका प्रतिनिधि र समर्थकहरूले उहाँलाई स्वागत गर्नु भएको थियो ।
उहाँका समर्थकहरुले “राजा आउ देश बचाउ” र “हाम्रो राजा हाम्रो देश” जस्ता नारा लगाउँदै स्वागत गर्नु भएको थियो । पूर्वराजा शाह पोखराको लेकसाइडस्थित सोल्टी होटल पोखरामा बस्ने कार्यक्रम रहेको छ । उक्त होटलमा एक साता रहने बताइएको छ । पोखरा बसाइँ झन्डै दुई साता हुने श्रोतको भनाई छ । यस अवधिमा पूर्व राजा शाहले विभिन्न शक्ति पीठहरूको दर्शन गर्नुका साथै राष्ट्रवादी समूह, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अर्जुन खनालले बताउनु भयो । पूर्वराजा शाहको यस पटकको पोखरा भ्रमणलाई राजनीतिक तथा सामाजिक दृष्टिले चासोका साथ हेरिएको छ ।



