
दीननाथ बराल,
पोखरा,
तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशकोसह–आयोजनामा वैशाख १८ र १९ गते बन्दीपुर बजार क्षेत्रमा उक्त मार्ट सञ्चालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बाबु थापाले मार्ट आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । बन्दीपुर भ्रमण वर्ष २०२५ सम्पन्न भइसकेको र पुनः गाउँ पर्यटन केन्द्रित भ्रमण वर्ष घोषणा गरिएको सन्दर्भमा यो कार्यक्रम अझै महत्वपूर्ण हुने उहाँले जनाउनु भयो । साथै बन्दीपुर होमस्टे सर्किट निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत अध्यक्ष थापाले बताउनुभयो ।
यसअघि तीन संस्करण पोखरा मा सम्पन्न भइसकेको गाउँ पर्यटन मार्ट यसपटक पहिलो पटक ग्रामीण गन्तव्य बन्दीपुरमा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । कार्यक्रममा सामुदायिक होमस्टे, पर्यटन व्यवसायीका स्टल, प्यानल छलफल, विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति तथा पर्यटन प्रवद्र्धन सामग्री वितरण लगायतका कार्यक्रम हुने भएको छ । मार्टको मुख्य उद्देश्य गाउँका साना पर्यटन व्यवसायी र सामुदायिक होमस्टेलाई सिधै शहरी बजार तथा ठूला ट्राभल एजेन्सीसँग जोड्दै बी२बी र नेटवर्क विस्तार गर्नु रहेको आयोजकले जनाएको छ । साथै ग्रामीण पर्यटनमा निजी तथा सरकारी लगानी आकर्षित गर्ने र स्थानीय उत्पादनको बजारीकरण गर्ने लक्ष्य पनि राखिएको छ ।
कार्यक्रममा करिब ३० भन्दा बढी होमस्टे, पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी, विद्यार्थी तथा स्वदेशी–विदेशी पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट प्रत्येक जिल्लाका कम्तीमा दुई होमस्टे सहभागी गराउने योजना रहेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो। बन्दीपुर क्षेत्रमा हाल ७ वटा व्यवसायिक होमस्टे सञ्चालनमा रहेका छन्। यहाँको अर्गानिक खाना, रैथाने बाली तथा परम्परागत कला–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा यो मार्टले थप टेवा पु¥याउने विश्वास लिइएको छ । साथै आगामी बन्दीपुर भ्रमण वर्ष २०२६ लाई प्रभावकारी बनाउँदै पर्यटक बसाइ अवधि वृद्धि गर्ने लक्ष्य पनि राखिएको छ ।



