पोखरामा अफलाइन पठाओ तथा इनड्राइभ चलाउँदै यात्रुसँग बढी भाडा असुल्ने १३ जना पक्राउ

-


     पोखरा क्लिक     
     वैशाख ३ गते २०८३ मा प्रकाशित


पोखरा ३, वैशाख,

अफलाइन रूपमा पठाओ तथा इनड्राइभ सञ्चालन गर्दै यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने तथा अनावश्यक दुःख हैरानी दिने १३ जना मोटरसाइकल तथा स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले एपमा आवद्ध रहे वा नरही अफलाइन रूपमा मोटरसाइकल सञ्चालन गरी यात्रुसँग बढी भाडा लिने र ठगी गर्ने गरेको सूचनाका आधारमा कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले पोखरा क्लिकलाई बताए ।

पक्राउ परेकाहरूमा विष्णु बहादुर नेपाली, राजन परियार, लिल बहादुर गुरुङ, प्रबिण थापा, नवीन थापा, दिपक कुमार गुरुङ, अम्मर बहादुर महतरा, माधव कुईकेल, बुद्धि बहादुर विक, बिक्की लामा, कृष्ण कुमाल, मिन बहादुर थापा र कृष्ण बहादुर गुरुङ रहेका छन्। नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।