नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण, नयाँ सरकार गठनको तयारी

-


     पोखरा क्लिक     
     चैत्र १२ गते २०८२ मा प्रकाशित


काठमाडौं,

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद्को नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराएका हुन्।

यसअघि ज्येष्ठ सदस्य केसीलाई भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेल ले पद तथा गोपनीयताको शपथ गराएका थिए। नेपालको संविधानको धारा ८८ र ९१ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार सांसदहरूले शपथ लिएका हुन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विभिन्न राजनीतिक दलहरूले उल्लेख्य सिट प्राप्त गरेका छन्। परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी १८२ सिट जित्दा नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेकपाले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट हासिल गरेका छन्।

नवनिर्वाचित सांसदहरूले शपथ लिएसँगै अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो कार्यकालबारे प्रतिक्रिया दिएकी छन्। उनले प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य पूरा भएको बताउँदै जिम्मेवारीबाट बिदा हुन लागेको उल्लेख गरिन्। गत भदौ २७ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा मनमा रहेको डर र अन्योल अहिले सन्तुष्टिमा परिणत भएको उनको भनाइ थियो। “देश सङ्कटमा रहेका बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वासका साथ मैले जिम्मेवारी सम्हालेकी थिएँ,” उनले भनिन्, “अब निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने उद्देश्य पूरा भएको छ। म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु।” नयाँ सरकार गठनको तयारीसँगै देशमा राजनीतिक गतिविधि थप तीव्र बन्ने अपेक्षा गरिएको छ। रास्वपाका बरिष्ठ नेता वालेन शाह प्रधानमन्त्री बन्ने भएका हुन् । शुक्रबार सपथ ग्रहण तथा पदभार ग्रहण समेत हुने भएको रास्वपा श्रोतले जनाएको छ ।