पुष्करिणी परोपकार गोकुलधाममा चैत २ देखि श्रीमद् भागवत ज्ञान महायज्ञ हुने(भिडियो सहित), पोखराका सडकमा रहेका ३ सय गाईबस्तु गोकुलधाममा

-


     पोखरा क्लिक     
     फागुन ३० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ३० फागुन

पोखरामा सडकमा छाडिएका गाई–वस्तुको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको पुष्करिणी परोपकार गोकुलधामले तेस्रो वार्षिकोत्सवको अवसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका–१४ बाच्छीबुडुवामा रहेको गोकुलधाम परिसरमा चैत २ गतेदेखि महायज्ञ सञ्चालन गरिने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कार्यक्रमबारे जानकारी दिँदै उत्तः परियोजवानका परिकल्पनाकार एवं भागवत भाष्कर कमलनयन गौतमले महायज्ञमार्फत सङ्कलित सहयोग र दान रकम गौशालामा रहेका गाई–वस्तुको संरक्षण, पालनपोषण तथा गोकुलधामको पूर्वाधार विकासमा खर्च गरिने बताउनु भयो । पोखरा महानगरपालिकाको सहयोग र राष्ट्रिय परोपकार महासंघ नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको गोकुलधामले विगत तीन वर्षदेखि सडकमा वेवारिसे रूपमा छाडिएका गाई–वस्तु तथा वृद्ध, रोगी र अशक्त गाईहरूको उद्धार, आश्रय, उपचार, स्याहार तथा आहारको व्यवस्था गर्दै आएको उहाँले जनाउनु भयो । हाल गोकुलधाममा करिब ३ सय १५ वटा गाई, गोरु तथा बाच्छा–बाच्छी रहेका छन् । यहाँबाट दैनिक करिब ६० देखि ७० लिटर दूध उत्पादन हुँदै आएको गोकुलधामका संरक्षक तथा अध्यक्ष समेत रहनु भएको गौतमले बताउनु भयो । करिब २ सय रोपनी क्षेत्रफलमा फैलिएको यस परियोजनाले गाईको गोबर र गहुँत प्रयोग गरी अर्गानिक मल, गड्यौला मल तथा जैविक खेतीको प्रक्रिया पनि सुरु गरेको उहाँले दाबी गर्नुभयो ।

गोकुलधाम स्थापना भएपछि कास्की जिल्लामा सडकमा छाडिएका गाई–वस्तुका कारण हुने दुर्घटना उल्लेख्य रूपमा घटेको आयोजकको दाबी छ । यसअघि हरेक वर्ष ४–५ जनासम्म मानिस सडक दुर्घटनामा ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक रहेको भए पनि गोकुलधाम सञ्चालनपछि यस्ता घटनामा उल्लेख्य कमी आएको गौतमले दाबी गर्नुभयो ।

पोखरा महानगरपालिकाले विगतमा भौतिक संरचना निर्माणका लागि वार्षिक ५० लाख रुपैयाँ सहयोग गर्दै आएको र चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट एक करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी पनि उहाँले दिनुभयो । हालै खानेपानीको समस्या समाधान गर्न बोरिङ खनेपछि गोकुलधाममा पानीको अभाव हटेको राष्ट्रिय परोपकार महासंघ नेपालले पोखराक्लिकलाई जनाएको छ । आगामी दिनमा गोकुलधाम परिसरमा कृष्ण मन्दिर निर्माण, जडीबुटीका बिरुवा रोपण, योग–ध्यान साधना केन्द्र स्थापना, धार्मिक व्यक्तिहरूको बसोबासका लागि भवन निर्माण तथा प्रशासनिक कार्यालय व्यवस्थापन गर्ने योजना रहेको आयोजकले जनाएको छ । गोकुलधामलाई गौमाताको संरक्षण मात्र नभई अध्ययन, अवलोकन तथा आध्यात्मिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।