नेकपाले रुकुम पूर्वबाट खाता खोल्यो, संयोजक प्रचण्ड ६ हजार बढी मतान्तरले विजयी

-


     पोखरा क्लिक     
     फागुन २२ गते २०८२ मा प्रकाशित


रुकुम पूर्व,

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीलाई उक्त क्षेत्रबाट पहिलो जित दिलाउनुभएको हो।

बिहीबार सम्पन्न निर्वाचनको मतगणना अनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्नुभएको छ।

प्रचण्डले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ७७८ मतान्तरले पछि पार्दै स्पष्ट जित हासिल गर्नुभएको हो। यस जितसँगै नेकपाले रुकुम पूर्वबाट प्रतिनिधिसभा निर्वाचनमा खाता खोल्न सफल भएको छ। निर्वाचन कार्यालयका अनुसार रुकुम पूर्वमा कुल ३४ हजार ७७२ मतदाता रहेका थिए। तीमध्ये १९ हजार १८८ मत खसेको थियो। मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै प्रचण्डको जित सुनिश्चित भएको हो। रुकुम पूर्व माओवादी आन्दोलनको प्रभाव रहेको क्षेत्रका रूपमा चिनिँदै आएको छ। यस पटक पनि सो प्रभाव कायम राख्दै नेकपाका संयोजक प्रचण्डले फराकिलो मतान्तरसहित विजय हासिल गर्नुभएको हो।