पोखरामा प्रहरीको कार्यालयमा रहेको मोसा सहित स्कुटर चोरी गर्ने ६ जना प्रहरीको नियन्त्रणमा

-


     पोखरा क्लिक     
     कार्तिक १९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १९, कार्तिक

पोखरामा प्रहरीको कार्यालयमा रहेको मोटरसाइकल (मोसा) सहित स्कुटर चोरी गर्ने ६ जना प्रहरीले नियन्त्रणमा लिएको छ । तीन वटा स्कुटर र एउटा मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले चोरी भएका ग ९ प ८७६१ र ग १५ प ५२३७ नं.का स्कुटर सहित चार जनालाई पक्राउ गरेको हो भने वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को टोलीले ग ४ प ७६८४ नं.को चोरी भएको स्कुटर सहित एक जनालाई नियन्त्रणमा लिएकोे हो । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–३३ का २१ वर्षीय शेरबहादुर पुन मगर, वडा नं. ५ का २५ वर्षीय अजय नेपाली, वडा नं. १० का २१ वर्षीय सुशिल गुरुङ, वडा नं. ११ का २० वर्षीय सुदिप परियार र वडा नं. १३ काँहुँखोलाका २७ वर्षीय रोशन परियार रहेको कार्यालयले जनाएको छ ।

यसैबिच, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट चोरी भएको मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गत भदौ २४ गते आन्दोलन, तोडफोड तथा आगजनीको क्रममा प्रहरी परिसरमा राखिएको मोटरसाइकल चोरी गरी चलाइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा–१७ दोविल्ला बस्ने २४ वर्षीय सुवास तामाङलाई पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बताउनु भयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा अनुसन्धानका लागि राखिएको ८८ग १६ प १४५५ नं.८८को कालो रंगको मोटरसाइकल चोरी गरी चलाइरहेको अवस्थामा फेला पारिएको उहाँले उल्लेख गर्नुभयो । प्रहरीले उहाँहरु विरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ । पोखरामा हिजो आज चोरीका घटना भई रहदा ठाउँ ठाँउमा निगरानी समुहहरु समेत गठन गरिएको छ ।