पोखरा रोयल सहकारीद्वारा प्रहरीलाई मोटरसाइकल सहित वडा कार्यालयलाई सामग्री सहयोग हस्तान्तरण

-


     पोखरा क्लिक     
     असाेज २ गते २०८२ मा प्रकाशित


जया पौडेल
पोखरा,

जेन–जी युवा पुस्ताको गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा पोखराका सयौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोडका कारण कार्यसम्पादनमा अवरोध सिर्जना भएपछि, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ३ लाख ४४ हजार रुपैयाँ बराबरको सामग्री सहयोग हस्तान्तरण गरेको छ।

सहकारीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई टिभिएस कम्पनीको १२५ सिसी क्षमताको एक थान मोटरसाइकल तथा पोखरा महानगरपालिका–१० वडा कार्यालयलाई एक सेट कम्प्युटर र एक सेट प्रिन्टर हस्तान्तरण गरेको सहकारीले पोखराक्लिकलाई जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिया र वडा नं.१० का वडाध्यक्ष राजेश गुरुङलाई संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले हस्तान्तरण गर्नु भएको हो । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूलाई छिटो सामान्य अवस्थामा सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो।

सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले पोखरा रोयल सहकारीले यसअघि कोभिड–१९ महामारी र महाभूकम्पको समयमा पनि सामुदायिक हितका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समाजप्रति उत्तरदायी भूमिकामा रहिरहने प्रतिबद्धता जनाउनुभयो। कास्कीका एसपी ओलीयाले आन्दोलनका क्रममा सरकारी कार्यालयमा अपूर्ण क्षति पुगेकोले त्यसको पूर्ववत रुपमा फर्काउन सबैको साथ र सहयोग आवश्यक भएको बताउदै यस्तै सहयोगी मनहरु र संस्थाको सहयोगले आफुहरु आगजनीबाट खरानी भएको अबस्थामा पुनः दृण आत्म विश्वासका साथ अघि बढ्ने बताउनु भयो । आन्दोलनका क्रममा जलेर नष्ट भएका कार्यालय सामग्रीका कारण सेवाग्राही मारमा परेको स्थितिमा यो सहयोगले तत्कालिक आवश्यकतालाई केही राहत हुने संस्थाका सूचना अधिकारी मीलन ढकालले विश्वास व्यक्त गर्नुभयो । सहकारीले जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।