
पोखरा,
मुलुकमा दिगो शान्तिको कामना र व्यावसायिक सुरक्षाको प्रत्याभूतिका उद्देश्यले पोखरामा बृहत मौन शान्ति ¥याली निकालिएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा बस्तुगत संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा मंगलबार बिहान गैह्रापाटनस्थित संघको सचिवालयबाट ¥याली सुरु भएको हो ।
संघका अध्यक्ष गोकर्ण कार्कीको अगुवाइमा निकालिएको ¥याली जेनजी आन्दोलनका क्रममा दिवंगत भएका आत्माहरूको चिरशान्तिको कामना, देशमा देखिएको अशान्तिको अन्त्य र व्यावसायिक वातावरण पुनःस्थापना गर्ने उद्देश्यले आयोजना गरिएको अध्इक्ष कार्कीले जनाए । अध्यक्ष कार्कीले शान्ति बिना व्यावसायिक वातावरण निर्माण नहुने र आत्मबल नबढ्ने भन्दै व्यवसायीहरूलाई मनोबल नघटाउन आग्रह गरे ।
उनले आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भई व्यवसायिक प्रतिष्ठानहरूमा अरबौं रुपैयाँको नोक्सानी पुगेको भन्दै शान्ति बिना व्यवसाय उठ्न नसक्ने बताए । ‘हामी पुनः उठ्नुपर्छ, तर शान्ति बिना त्यो सम्भव छैन,’ अध्यक्ष कार्कीले भने ।
यसैबीच संघले उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै व्यवसायीहरूलाई संयमित र धैर्यवान रहन अपिल गरेको छ । संघकी महासचिव शोभा गौतमले जारी गरेको विज्ञप्तिमा तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ भने क्षतिको विवरण संघलाई उपलब्ध गराउन आग्रह पनि गरिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्कीले व्यवसायिक प्रतिष्ठानहरूमा भएको आक्रमणप्रति व्यक्त गरेको दुःखप्रति कृतज्ञता व्यक्त गर्दै लुटिएका र उठ्न नसक्ने अवस्थामा पुगेका व्यवसायीलाई सहयोग उपलब्ध गराउने सरकारको घोषणाको स्वागत गरिएको छ । संघले कारागारबाट भागेका अपराधीहरूको उपस्थितिलाई मनन गर्दै व्यवसायीहरूलाई आफ्नो तथा प्रतिष्ठानको सुरक्षामा सर्तक रहन र स्थानीय प्रशासन, टोल विकास संस्था, युवा क्लब तथा आमा समूहसँग सहकार्य गर्न समेत आग्रह गरेको छ ।
यस्तै उपभोक्ताहरूलाई सहज र सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गर्दै कानुनअनुसार देखिने गरी मूल्य सूची टाँस्न स्मरण गराइएको छ । जेनजी आन्दोलनका क्रममा युवाहरूको मृत्यु, तोडफोड, लुटपाट र आगजनीबाट भएको ठुलो क्षतिप्रति शोक व्यक्त गर्दै संघले यसवर्ष दशैंको शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय गरेको महासचिव गौतमले बताइन् ।




