
दीननाथ बराल,
पोखरा, २८ भदौ,
कास्कीमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेसँगै जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा कर्फ्यु आदेश शुक्रबार बिहान ९ः०० बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै भदौ २५ गतेदेखि कास्कीमा निषेधाज्ञा र कफ्र्यू जारी गरिएको थियो। यस अवधिमा नेपाली सेनाले पोखराका ३३ वटै वडामा निगरानी बढाएको थियो। आन्दोलनकै क्रममा पोखराका धेरै सरकारी कार्यालय, केही निजी होटल, व्यक्तिगत घर लगायतका नीजि क्षेत्रको व्यवसायमा समेत तोडफोड तथा आगजनी समेत भएको थियो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कफ्र्यू हटेसँगै शनिबार बिहानैदेखि बजार क्षेत्रहरूमा बिस्तारै चहलपहल बढ्न थालेको छ। शनिबार सार्वजनिक बिदा भए पनि पोखराका केही पसलहरू खुल्न थालेका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हस्ताक्षर गर्नुभएको सूचनामा जिल्लामा शान्ति–सुव्यवस्था कायम गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान, सार्वजनिक सेवा सुचारु गर्न तथा बजार व्यवस्थालाई क्रमिक रूपमा चलायमान बनाउन सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको उल्लेख छ।
सरकारी निकाय, निजी क्षेत्र, राजनीतिक दल, संघ–संस्था, सञ्चारकर्मी, मानवअधिकारकर्मी, नागरिक समाज र टोल–समुदायलाई सहकार्य र समन्वय गर्न जिल्ला सुरक्षा समितिले आग्रह गरेको छ। शुक्रबार बेलुकी देशले नयाँ प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको घोषणापछि देशभरको वातावरण सहज बन्दै गएको जनाइएको छ।




